क्षयरोग निवारण संस्थाका पुर्वसभापति श्रेष्ठ सम्मानीत

भक्तपुर, साउन १६
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४५ औं स्थापना दिवसको अवसरमा मंगलवार उक्त संस्थाका पुर्वसभापति बाबुकाजी श्रेष्ठ सम्मानीत हुनुभएको छ । श्रेष्ठको कार्यकालमा भक्तपुरमा क्षयरोग निवारणमा उल्लेख्य कार्य भएको भन्दै संस्थाले उहाँलाई सम्मान गरेको हो ।
श्रेष्ठलाई नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य एवं उपत्यका इन्चार्ज महेन्द्रगोपाल कर्माचार्यले दोसला ओढाई कदरपत्रले सम्मान गर्नुभएको हो । सो अवसरमा कर्माचार्यले क्षयरोग निवारणमा भक्तपुर अरु शाखा भन्दा अग्रणी रहेको बताउनुभयो । उहाँले कालिमाटीमा रहेको नेपालको एक मात्र क्षयरोग अस्पतालमा उपचारत क्षयरोगी विरामीहरुलाई खानाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
सम्मानीत श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई संस्थागत विकास, आर्थिक शबलीकरण, अक्षयकोष स्थापना र पुरस्कार व्यवस्था गरिएको बताउनुभयो । उहाँले सबैसँग सहकार्य गरी नयाँ ढंगले क्षयरोग नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गरेको र भक्तपुरलाई क्षयरोग मुक्त जिल्ला बनाउने अभियान थालेको बताउँदैं क्षयरोग नियन्त्रण अभियानमा निरन्तर लागिरहने प्रतिवद्धता जनाउनुभयो ।
संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा निरन्तर तिन दशक भन्दा बढी कर्मचारीको रुपमा सेवा गर्नु भएका कार्यालय सचिव हिरण्यप्रताप सांगामीलाई निबृत्त सम्मान गरिएको थियो ।
सम्मान ग्रहण गर्दै सांगामीले जिल्लामा क्षयरोग नियन्त्रण गर्न हरबखत समय दिई लागि परेको र पछिसम्म पनि लागिरहने विश्वास दिलाउनुभयो । संस्थाका सचिव सुमन श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा निवर्तमान सभापति राम सिख्वःले धन्यवाद ज्ञापन गर्नुभयो ।