श्रीलंका पहिलो पटक एसीसी महिला एसिया कप च्याम्पियन

भक्तपुर, साउन १३
श्रीलंका पहिलो पटक एसीसी महिला एसिया कपको च्याम्पियन बनेको छ । श्रीलंका आइतबार सम्पन्न फाइनलमा साविक विजेता भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो ।
श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा भारतले टस जितेर पहिले व्याटिङ गर्दै १६५ रन बनाएको थियो । जवाफमा श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाई १६७ रन बनाई उपाधि जितेको हो ।
जितको लागि ४ रन आवश्यक हुँदा कबिसा दिलहारीले छक्का प्रहार गर्दै श्रीलंकालाई जित दिलाएका थिए । दिलहारीले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाइन् । तेस्रो विकेटका लागि समराविक्रमा र दिलहारीले ४० बलमा अविजित ६३ रनको विजयी साझेदारी गरेका थिए ।
श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ रन बनाइन् । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाइन् । उनले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् ।
कप्तान अथापाथ्थु र समराविक्रमाले दोस्रो विकेटका लागि ६३ बलमा ८७ रनको साझेदारी गर्दै टोलीलाई च्याम्पियन बनाउने आधार तयार गरेका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाइन् । स्मृतीले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् ।
रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् ।
श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् ।
भारत सात पटकको च्याम्पियन हो । महिला एसिया कपको इतिहासमा भारत दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि सन् २०१८ को एसिया कपको फाइनलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।