वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी छ – सांसद थापा

भक्तपुर, साउन १३
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । राष्ट्रका नाममा दुई घण्टा अभियानको संयोजनमा शनिवार आयोजित सूर्यविनायक नगरपालिकाका वडा नं. ५ स्थित नगरपालिका कार्यालयदेखी शुशिला भैरब मन्दिर हुदै कोलडाँडा सम्मको सडक छेउमा वृक्षारोपण कार्यक्रममा सांसद थापाले रुखले मात्र प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी रहेको बताउनुभएको हो ।
उहाँले जलवायु परिवर्तनले ल्याएका असर न्यूनिकरण गर्न र अनुकुलित जीवनयापनका लागि पनि रुख बिरुवा रोप्ने र वातावरण संरक्षण आवश्यक भएको बताउँदैं प्रकृतिको संरक्षण गरी स्वच्छ वातावरण स्वस्थ जीवनको लागि वृक्षारोपण आवश्यक भएकोमा जोड दिनुभयो ।


कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष राजकुमार जोशीले स्थानीय बासिन्दालाई आफ्ना घरआँगन नजिक रोपिएका बिरुवा हुर्काउने जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो ।
राष्ट्रका नाममा दुई घण्टा अभियानका संयोजक मधु ढुंगेलले अभियानका बारेमा स्थानीयलाई जानकारी गराउँदैं अभियानमा सबैको सहयोगको खाँचो रहेको बताउनुभयो ।
वृक्षारोपणमा कटुञ्जे जिवन विज्ञान ,घट्टेखोला लिफ्ट जलश्रोत समितिका पदाधिकारीहरु, सूर्यविनायक वडा नं. ५ का जनप्रतिनिधिहरु, नेप्सेम्याक, प्रहरी, विद्यार्थी, अभियानका सदस्यहरु र स्थानीयको सहभागितामा कपुर असारे, कल्की, लगायतका करिब १६० बिरूवा रोपिएको अभियानकै सदस्य राजेश तजले बताउनुभयो ।