मध्यपुर थिमिका १० हजार बालबालिकाले लगाए पोलियो विरुद्धको खोप

भक्तपुर, साउन १०
विशेष पोलियो खोप अभियान अन्तर्गत मध्यपुर थिमिमा दुई दिनमा १० हजार ३१५ जनाले खोप लगाएका छन । नगरपालिका भित्रका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई पोलियो खोप दिने अभियान अन्तर्गत मंगलवार र बुधवार दुई दिनमा नगरभित्रका ५ हजार ४५८ बालक र ४ हजार ८५७ बालिका गरी कुल १० हजार ३१५ जना बालबालिकालाई खोप लगाएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नं. १ को स्वास्थ्य चौकीबाट १ हजार ५२३, वडा नं. २ को शहरी स्वास्थ्य केन्द्र जातिगालबाट १ हजार ४२, वडा नं. ३ को शहरी स्वास्थ्य केन्द्र कौशलटारबाट १ हजार ९१६, वडा नं. ४ को स्वास्थ्य चौकी बालकुमारीबाट ८५६ र वडा नं. ५ को शहरी स्वास्थ्य केन्द्र भुलाँखेलबाट ५९६ जना बालबालिकालाई पोलियो विरुद्धको खोप दिईएको छ ।


यसैगरी वडा नं. ६ को थिमि स्वास्थ्य चौकीबाट ७४७, वडा नं. ७ को नगदेश स्वास्थ्य चौकीबाट १ हजार ६, वडा नं. ८ को शहरी स्वास्थ्य केन्द्र बोदेबाट ९१३, वडा नं. ९ को बोदे स्वास्थ्य चौकीबाट १ हजार २४३ र वडा नं. ९ कै शहरी स्वास्थ्य केन्द्र निकोशेराबाट ३४८ र अन्य १२५ जना बालबालिकाहरुलाई खोप दिईएको मध्यपुर थिमिको स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
टुकुचा र बागमतीको दोभान नजिकको ढलको पानी परीक्षण गर्दा पोलियोको भाइरस पाइएपछि उपत्यकाका तीन जिल्लामा रहेका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई पोलियो खोप दिने विशेष अभियान शुरु भएको हो ।


गत साउन ९ गतेबाट शुरु भएको अभियान साउन ११ गतेसम्म सञ्चालन हुने प्रजापतिले बताउनुभयो । अभियान अन्तर्गत मध्यपुर थिमिका ३१ हजार ९६६ घरधुरी, नगरभित्रका शिशु स्याहार केन्द्र, प्रि स्कुल, मण्टेश्वरी र विद्यालयमा समेत स्वास्थ्यकर्मी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयम सेविकाहरु पुगेर जन्मेको २ दिनदेखी ५ वर्ष मुनीका बालबालिकालाई खोजी खोजी पोलियो थोपा खुवाउने प्रजापतिले बताउनुभयो ।