बसको ठक्करले पैदलयात्रीको मृत्यु, मृतकको पहिचान खुल्न बाँकी

भक्तपुर, साउन ९
भक्तपुरमा यात्रुबाहक बसले पैदल यात्रीलाई ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– ६ डेकोचास्थित व्यासीबाट कमलबिनायकतर्फ जाँदै गरेको बागमती ३ ख ५०८० नं. बसले मंगलबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा घाईते भएका उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको प्रनाउ कार्कीले बताउनुभयो ।
“नामथर, वतन नखुलेको अन्दाजी ४०÷४५ वर्षको पुरुष व्यक्तिलाई अचानक ठक्कर दिदा गम्भिर घाईते भई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो”, कार्कीले भन्नुभयो, “उनको पहिचान खुल्न सकेको छैन ।”
प्रहरीले ठक्कर दिने बस र बस चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. १० घर भई हाल भक्तपुर आदर्श बस्ने ४५ वर्षिय अहमद हुसेनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा राखी थप कारवाही भइरहेको कार्कीले बताउनुभयो ।