काठमाण्डौं उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान

भक्तपुर, साउन ९
काठमाण्डौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ । गत जेठ १३ गते काठमाण्डौंको टुकुचा र वागमती मिसिएको पानीको नमूना संकलन गरी परीक्षण गर्दा पोलियोको ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएको थियो । सोही कारण सरकारले उपत्यकामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन गर्न लागेको हो ।
अभियान अन्तर्गत उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका जन्मेदेखी ५ वर्ष मुनीका सबै बालबालिकालाई घरघरमा स्वास्थ्यकर्मी पुगेर पोलियो विरुद्धको खोप दिनेछ ।
नियमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने मध्यपुर थिमि नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले बताउनुभयो ।
अभियान अन्तर्गत मध्यपुर थिमिमा बुधवारदेखी शनिवारसम्म ३१ हजार ९६६ घरधुरी, नगरभित्रका शिशु स्याहार केन्द्र, प्रि स्कुल, मण्टेश्वरी र विद्यालयमा समेत स्वास्थ्यकर्मी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयम सेविकाहरु पुगेर जन्मेको २ दिनदेखी ५ वर्ष मुनीका बालबालिकालाई खोजी खोजी पोलियो थोपा खुवाउने छ ।
अभियानका लागि दुई जनाको एउटा टोली बनाईनेछ । ती टोलीले बिहान र बेलुकी घरदैलो गरी बालबालिकाहरुलाई पोलियो थोपा खुवाईनेछ । नगरभित्रका ६ वटा अस्पतालमा समेत अभियान सञ्चालन हुने प्रजापतिले बताउनुभयो ।