रोकी राखेको टिफरमा स्कुटी ठोकिँदा स्कुटी चालकको मृत्यु

भक्तपुर, साउन ८
मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित सिदार्थ पेट्रोल पम्प नजिक बिग्रिएर रोकी राखेको टिफरमा स्कुटी ठोकिँदा उक्त स्कुटी चालकको मृत्यु भएको छ ।
काठमाण्डौबाट भक्तपुरतर्फ आउने सडक खण्डको बाँया साइडमा बिग्रिएर रोकि राखेको लुम्बिनी २ ख. १९०४ नं. को खाली टिपरको पछाडिको भागमा सोही दिशा तर्फबाट आँउदै गरेको प्रदेश ३–०२–००६ प. ९०३५ नं. को स्कुटी अचानक अनियन्त्रित भई सोमवार साँझ ठोकिएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा स्कुटी चालक तेह्रथुम साप्ला–५ घर भई हाल मध्यपुर थिमि ३, कौशलटार सागबारी बस्ने २१ वर्षिय नविन पुदुङ (लिम्बु)को मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका लिम्बुलाई उपचारका लागि कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल लगिएकोमा उपचारकै क्रममा मंगलवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (प्रनाउ) राजन कार्कीले बताउनुभयो ।
प्रहरीले दुई वटै सवारी साधन र टिफर चालक काभ्रे भुम्लु गाँउपालिका–१० बस्ने २६ वर्षिय पुजन शाहलाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य गरिरहेको कार्कीले जानकारी दिनुभयो ।