मध्यपुर थिमिमा विशेष पोलियो खोप अभियानमा ५ वर्ष मुनीका सबै बालबालिकालाइ पोलियो थोपा खुवाउने

भक्तपुर, साउन ७
विशेष पोलियो खोप अभियान अन्तर्गत मध्यपुर थिमि नगरपालिका भित्रका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई यही साउन ९ गते देखि १२ गतेसम्म पोलियो थोपा खुवाउने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले सोमवार आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समितिको बैठक एवम् अभिमुखीकरण कार्यक्रममा सो जानकारी दिएको हो ।
टुकुचा र बागमतीको दोभान नजिकको ढलको पानी परीक्षण गर्दा पोलियोको भाइरस पाइएपछि उपत्यकाका तीन जिल्लामा रहेका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई पोलियो खोप दिने विशेष अभियान अन्तर्गत मध्यपुर थिमिका बालबालिकाहरुलाई पनि पोलियोको थोपा खुवाउन लागेको हो ।


अभियान अन्तर्गत मध्यपुर थिमिका ३१ हजार ९६६ घरधुरी, नगरभित्रका शिशु स्याहार केन्द्र, प्रि स्कुल, मण्टेश्वरी र विद्यालयमा समेत स्वास्थ्यकर्मी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयम सेविकाहरु पुगेर जन्मेको २ दिनदेखी ५ वर्ष मुनीका बालबालिकालाई खोजी खोजी पोलियो थोपा खुवाउने मध्यपुर थिमि नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले बताउनुभयो ।
उहाँले आवश्यक थप जनशक्ति वडाअध्यक्षहरुसँग समन्वय गरी वडा वडामा स्वयम् सेवकहरु तयार गरी खटाईने जानकारी दिनुभयो । अभियानका लागि दुई जनाको एउटा टोली बनाईनेछ । ती टोलीले बिहान र बेलुकी घरदैलो गरी बालबालिकाहरुलाई पोलियो थोपा खुवाईनेछ । नगरभित्रका ६ वटा अस्पतालमा समेत अभियान सञ्चालन हुनेछ ।
अभियानका लागि मंगलवार साँझसम्म खोप तथा आवश्यक स्वास्थ्य सामग्री नगरमा आइपुग्ने प्रजापतिले बताउनुभयो । “आवश्यक खोपसहितको स्वास्थ्य सामग्री जिल्ला जनस्वास्थ्य कार्यालयमा आइपुगी सकेको छ । त्यसलाई मंगलवार साँझसम्म नगरपालिमा ल्याएर वडा वडामा वितरण गरिनेछ,” उहाँले भन्नुभयो । उहाँका अनुसार बुधवारदेखी शनिवारसम्म चार दिन अभियान सञ्चालन हुनेछ ।


नियमित खोपमा पोलियोको खोप दिइएको बालबालिकाहरुलाई पनि अभियानका क्रममा अनिवार्य पोलियो खोप दिनुपर्ने विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. प्रविण पौडेलले बताउनुभयो । उहाँले जन्मेको दुई दिनदेखी ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई नछुटाई खोप दिनुपर्ने बताउनुभयो ।
“यो खोपको कुनै साइड इफेक्ट हुँदैन । अन्य समय नियमित खोपका बेला पोलियो दिएका बालबालिकाहरुलाई पनि अभियानका क्रममा खोप दिनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले टुकुचा र बागमतीको दोभानको ढलमा पोलियो भाइरस फेला परेपनि अहिलेसम्म मानवमा पोलियो संक्रमण देखा नपरेकोले अहिले नै आत्तिनु पर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । “ढलको पानीको भाइरस देखिनु एउटा घटना हो । यसको अर्थ कुनै न कुनै बालबालिकामा पोलियोको भाइरसले रुप परिवर्तन गरेको भन्ने पुष्टि भएको छ । तर मानव संक्रमण नदेखिएकोले आत्तिनु पर्ने अवस्था छैन,” उहाँले भन्नुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले मानवमा संक्रमण देखिए यसले भोलीका दिनमा महामारीको रुप लिन सक्ने भएकाले अहिलेको विषेश अभियानलाई सबैले साथ सहयोग दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नगरका जनप्रतिनिधिहरु पनि यो अभियानमा जोडिने बताउँदैं नगरपालिकाले अभियानलाई सफल बनाउन सबै प्रकारको सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।