यसवर्ष तहाननीबाट थिमि भैलः प्रदर्शन हुने

भक्तपुर, साउन ७
मध्यपुर थिमिमा भाद्र कृष्ण द्वितिया (गु“लागा द्वितिया) देखि पञ्चमीसम्म चार रात नचाईने थिमि भैलः प्याखँ यसवर्ष वडा नं. ५ ताहाननीबाट प्रदर्शन गर्ने भएको छ । गाईजात्राको भोलीपल्टको राती देखी चार रात प्रदर्शन गरिने ऐतिहासिक एवम् धार्मिक महत्वको यो प्याखँ करिव २० वर्ष पछि ताहाननीबाट प्रदर्शन हुन लागेको हो ।
प्याखँको तयारी आइतवार गुरु पूर्णिमाबाट औपचारिक शुरुवात गरिएको छ । गुरु पूर्णिमाको राती प्याखँका गुरुहरुलाई सम्मानका साथ सगुन दिई गुरु थापना गरी प्याखँको औपचारिक शुरुवात गरिएको थिमि भैलः प्याखँ व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले बताउनुभयो ।
थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुंगः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कुल पाँच जना देवीदेवता रहन्छ ।


यसवर्ष थिमि भैलः प्याखँमा कृशल प्रजापतिले ज्यापुंग, अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी, साहिल प्रजापतिले लिपा दाँगीको भूमिका निर्वाह गर्दैछन ।
थिमिका जिवित साँस्कृतिक धरोहर साँस्कृतिक र परम्परागत प्याखँ एवम् वाद्यवादन गुरु श्रीगोपाल प्रजापतिको नेतृत्वमा गुरुहरु कृष्ण बहादुर प्रजापति, बालकृष्ण प्रजापति, चन्द्र भक्त प्रजापति र प्रेम कृष्ण प्रजापतिले प्याखँको प्रशिक्षण गराइरहनु भएको छ ।
त्यसैगरी बाद्यवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिव ३ दर्जनको संख्यामा रहेका छन । यसका साथै प्याखँका कलाकारका सहयोगी समेत करिव ५० जनाको टोली भैल प्याखँमा सहभागी रहेको व्यवस्थापन समितिका उपाध्यक्ष प्रजापतिले बताउनुभयो ।
भैलः प्याखँ सम्बन्धी किंवदन्ती अनुसार तत्कालिन समयमा थिमि क्षेत्रका जनताहरुलाई भूत प्रेतले अत्याधिक दुःख दिइरहेको थियो । रातको समयमा मात्र नभई दिनको समयमा पनि दुःख दिन थालेपछि किसानहरु खेतीपाती गर्न जान पनि डराउन थाल्यो । त्यसपछि देशमा हाहाकार मच्चियो । जनताहरु दरबारको राजालाई गुहार्न गयो र राजाले तान्त्रिक, विद्वान, नामुद शास्त्रज्ञहरुसंग छलफल गर्दा मानिसहरुमा तान्त्रिक रुपमा भैरव नाथ जगाइ टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेतहरु टिक्न नसक्ने सल्लाह दिए । सोही आधारमा थिमिमा भैलः प्याख“ सञ्चालनमा आएको विश्वास रहेको छ ।