बागमतीका निवर्तमान मुख्यमन्त्री जम्कट्टेलको उपलब्धी सार्वजनिक

भक्तपुर, साउन ७
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो १८ महिने सरकारको मूख्य उपलब्धी आइतवार सार्वजनिक गर्नुभएको छ । प्रदेश सभामा अल्पमतमा परेपछि आइतवार नै प्रदेश सभालाई सम्बोधन दिएका जम्कट्टेलले आफ्ना मन्त्रीमण्डलका सदस्यहरुलाई साथै राखी प्रमुख कार्यहरुको विवरण सार्वजनिक गर्नुभएको हो ।
जम्कट्टेलले सार्वजनिक गरेको मुख्य उपलब्धीमा पुँजीगत खर्च प्रदेश गठन भएयताकै सबैभन्दा उच्च ७९.४५% भएको दावी गरिएको छ । यस्तै २ सडकतर्फ ५९६ किलोमीटर कालोपत्रे भएको, ६१ वटा सडक पुल, १६ वटा झुलुङगे पुल, २२६ सामुदायिक भवन र २१ वटा पार्क निर्माण भएको जनाएको छ ।
सिंचाइतर्फ १ हजार ५ सय २१ वटा आयोजना सम्पन्न भएको, ३७ हजार ९ सय ४९ वटा थप खानेपानीका धारा जडान भएको, ३ सय ९ विद्यालयमा घेराबार, १ सय ६७ वटा २ कोठे भवन, १ सय ५१ वटा खेल मैदान निर्माण सम्पन्न भएको जम्कट्टेलले जानकारी दिनुभयो ।
यसैगरी ७ प्रदेश विश्व विद्यालय गठन, प्रादेशिक सडक गुरुयोजना पास, प्रदेशका १३ जिल्लाका कमजोर १३ वडामा नमूना वडा समाजवादी कार्यक्रम शुरु, प्रदेशका ५० भन्दा बढी वडामा समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम लागू, गृहणि महिला उद्यमशिलता कार्यक्रम ३५ वटा पालिकामा शुरु, चेपाङ च्युरी चमेरो संरक्षण कार्यक्रम, दलित विकास कार्यक्रम, नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू, कला र सँस्कृतिको संरक्षण गर्न रु ५ करोडको अक्षय कोष स्थापनालाई पनि जम्कट्टेलले उपलब्धीको रुपमा सार्वजनिक गर्नुभयो ।
दूध किसानलाइ प्रति लिटर दूध उत्पादनमा रु ३ अनुदान दिन पालिकाहरुलाइ अनुदान रकम विनियोजन, गौतम बुद्ध अन्तर्राष्ट्रिय त्रिीकेट रंगशाला बनाउन ५३ करोड लागत साझेदारी गर्ने निर्णय, गौरिटार अन्तर्राष्ट्रिय खेलकुद स्टेडियमको निर्माण सम्पन्न हुने चरणमा पुगेको, प्रदेशका सबै प्रादेशिक अस्पतालहरुको स्तरउन्नति र भक्तपुर र हेटौंडा अस्पताललाई ३०० बेडमा स्तरउन्नति गर्नुलाई उपलब्धी भएको दावी गरिएको छ ।
यसैगरी प्रादेशिक अस्पतालका सबै जनरल बेड निःशुल्क, प्रदेश अस्पतालमा ६५ बर्ष माथिका ज्येष्ठ नागरिकको दन्त सेवा निःशुल्क, प्रदेशको काठ प्रदेशबासीलाइ सुपथ मुल्यमा दिन शुरु गरिएको, गरिब नागरिकको खरको छाना हटाउने अभियान सञ्चालन, प्रादेशिक खेलकुद प्रतियोगिता आयोजना, कर्मचारी दरबन्दी स्वीकृती, भक्तपुर चाँगुनारायण ७ मा साँस्कृतिक औद्योगिक ग्राम र ललितपुरमा औद्योगिक ग्रामको सम्भाब्यता अध्ययन सम्पन्न भएको जनाएको छ ।
जम्कट्टेलले सरकारी भवन निर्माण गर्दा अनिवार्य सरकारी काठको प्रयोग गर्ने ब्यवस्था, सवारी साधनको ट्रयालमा उत्तीर्ण हुन ७० अंक ल्याए पुग्ने व्यवस्था, सवारी साधनको घरबाटनै अनलाईन मार्फत बिलबुक नवीकरण गर्ने ब्यवस्था, विभिन्न ऐन र नीति गरि २६ वटा पारित, वित्तीय संघीयता कार्यान्यन गर्न यो अवधिमा १४ अर्ब ९२ करोड रुपैयाँ स्थानिय तहमा हस्तान्तरण गरिएको, क्यान्सर रोग लागेका बिरामीलाइ उपचार सहुलियत स्वरुप रु १५ करोड निकासा गरिएको विषयलाई पनि उपलब्धीको रुपमा सार्वजनिक गरेको छ ।
यसैगरी संघीयता कार्यान्वयन गर्न जोड दिन ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन आयोजना, विपद ब्यवस्थापनका लागि रु ११ करोड ४० लाख जिल्ला विपद ब्यवस्थापन कोषमा पठाइएको, बागमती लगानी दशकको घोषणा र लगानी बोर्डको निर्माण, एक विद्यालय एक नर्स कार्यक्रम बिस्तार गरि ८ सय ४८ मा. वि.मा पुर्याइएको, २७ वटा मा.वि.मा विद्यालय बस प्रदान, प्रदेशको दोश्रो आवधिक योजना निर्माण र भक्तपुर अस्पताल, नुवाकोट अस्पताल र सिन्धुली अस्पतालमा सिटि स्क्यान मेसिन खरिदको प्रवन्ध मिलाइएको जनाएको छ ।