नगर क्षेत्रको सौन्दर्यताका लागि मध्यपुर थिमिमा बृहत वृक्षारोपण (फोटो फिचरसहित)

भक्तपुर, साउन ५
मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रको सौन्दर्यताको लागि पेप्सीकोला–बहाखाबजार–निकोशेरा–सल्लाघारी सडक र वडाका भित्रि सडकहरुमा वृक्षारोपण शुरु गरेको छ । नगर क्षेत्रमा हरियाली प्रवद्र्धनका लागि नगरपालिकाले विभिन्न प्रजातिका बिरुवा रोपेको हो ।
नगरपालिकाको वातावरण शाखाले शनिवार काठमाण्डौं उपत्यका विकास प्राधिकरण र राष्ट्रको लागि २ घण्टा अभियानसँग सहकार्य गरी थिमि प्रहरी बृतको ओरालो देखि निकोशेरा खण्ड र वडा नं. २ कार्यालयको आयोजनामा वडा नं. २ को भित्रि सडकमा बृहतरुपमा वृक्षारोपण गरेको हो ।


वृक्षारोपणको शुरुवात गर्दै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्र हरियाली प्रवद्र्धन गरी नगरको सुन्दरता बृद्धि गर्न वृक्षारोपण गरिएको बताउनुभयो । उहाँले नगरको प्रमुख सडक अरनिको राजमार्गमा करिव करिव वृक्षारोपणको कार्य सकिएको र अब दोस्रो मूख्य सडकको रुपमा रहेको पेप्सीकोला–बहाखाबजार–निकोशेरा–सल्लाघारी सडकमा मापदण्ड बमोजिम सिमांकन भई सडक बिस्तारको कार्य सम्पन्न भएका क्षेत्रमा विरुवा रोप्ने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।


उहाँले वृक्षारोपणले हरियाली प्रवद्र्धनका साथै वातावरणलाई स्वच्छ राख्न र मानवलाई स्वस्थ राख्न समेत मद्दत पुग्ने भएकोले नगरपालिकाले यो साउन महिनाभरी वृक्षारोपणलाई जोड दिएको बताउनुभयो । उहाँले रोपिएको बिरुवा हुर्काउन स्थानीय बासिन्दालाई जिम्मेवारी लिन आग्रह गर्नुभयो ।
काठमाण्डौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले प्राधिकरणको शहरी सौन्दर्य परियोजना अन्तर्गत मध्यपुर थिमि नगरपालिकासँग सहकार्य गरी वृक्षारोपण गरिएको जानकारी दिनुभयो ।


राष्ट्रका लागि २ घण्टा अभियानका संयोजक मधु ढुंगेलले प्रहरी वृत्त थिमिदेखी निकोशरासम्मको सडकको दाँयाबाँया कल्की, कपुर, असारे फुल र स्वामी गरी करिव ३ सय बिरुवा रोपिएको जानकारी दिनुभयो । बिरुवा रोप्ने क्रममा आवश्यक मलखादका साथै पानी भरणको लागि पाइपको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।


वृक्षारोपणमा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, मध्यपुर थिमिका पूर्व उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सूर्यविनायक नगरपालिकाका पूर्व उपप्रमुख जुना बस्नेत, प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम सागर केसी, मध्यपुर थिमिका वडाअध्यक्षहरु, वडा सदस्यहरु, शाखा प्रमुख, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, नेप्सेम्याक, पातञ्जल योग समितिलगायतका संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
यसैगरी मध्यपुर थिमि वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले वडाका भित्रि सडकहरुको सौन्दर्यताका लागि कल्की, धुपी, असारे फुललगायतका करिव एक सय बिरुवा रोपिएको बताउनुभयो ।