भक्तपुर अदालतमा १३९६ वर्ष कैद र ६१ करोड ८१ लाख जरिवाना उठ्न बाँकी

भक्तपुर, साउन ५
भक्तपुर जिल्ला अदालतमा मुद्दा फैसला भई तोकिएको कैद र जरिवाना रकम मध्ये १ हजार ३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद र ६१ करोड ९८ हजार ७ सय ५९ रुपैंयाँ जरिवाना उठाउन बाँकी रहेको छ । अदालतको तहसिल शाखाको अभिलेख अनुसार गत आर्थिक वर्षको साउन मसान्तसम्म सो कैद र जरिवाना असुल हुन बाँकी देखिएको हो ।
भक्तपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा बाँकी रहेको १ हजार ३ सय १० वर्ष ५ महिना १४ दिन कैद गत आ.व. २०८०÷०८१ मा जिम्मेवारी सरेर आएको थियो । साथै आ.व. २०८०÷०८१ मा ६ सय २५ वर्ष ११ महिना ११ दिन कैदको आदेश भएको थियो । ती मध्ये ५ सय ३९ वर्ष १० महिना १२ दिन मात्र कैद फर्छ्यौट भएको र १ हजार ३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद असुल हुन बाँकी रहेको अदालतका तहसिलदार भवानी शङ्कर घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जरिवानातर्फ भने आ.व.२०७९÷८० बाट २५ करोड ५० लाख ३ हजार ३ सय २४ रुपैंया जिम्मेवारी सरेर आएको थियो भने आ.व. २०८०÷०८१ मा ४६ करोड ९२ लाख ७९ हजार १ सय ७ जरिवाना फैसला भएको थियो ।
जिम्मेवारी सरेर आएको र गत आ.व.मा फैसला भएको कुल जरिवाना रकम ७२ करोड ४२ लाख ८२ हजार ४ सय ३१ मध्ये आ.व.२०८०÷०८१ मा १० करोड ६१ लाख ९८ हजार ७ सय ५९ रुपैंया फछ्र्यौट भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अव जरिवाना तर्फ ६१ करोड ८० लाख ८३ हजार ६सय ७२ रुपैंया जरिवाना उठाउन बाँकी रहेको छ ।
उहाँले आर्थिक वर्ष २०८०÷८१ मा कुल ५६.१६ प्रतिशत फैसला कार्यान्वयन भएको समेत जानकारी दिनुभयो । फैसला कार्यान्वयनको निवेदनतर्फ अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ५ सय ८५ लगत मध्ये ४ सय ९२ फर्छ्यौट भएका छन भने ९६ वटा बाँकी रहेको छ ।
यसैगरी फैसला कार्यान्वयनका गत आ.व.मा ७ सय ३८ निवेदन दर्ता भएकोमा २ सय ५१ फर्छ्यौट भएको र ४ सय ८७ बाँकी रहेको घिमिरेले बताउनुभयो ।
यस्तै क्षतिपूर्तितर्फ अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएको ५४ लाख ३६ हजार ३ सय ५८ रुपैंया रहेको र गत वर्ष ८ लाख ६० हजार ५ सय क्षतिपूर्तिको फैसला भएको थियो । ती मध्ये वर्ष भरीमा जम्मा ६ लाख ८७ हजार २ सय मात्र फर्छ्यौट भएको घिमिरे बताउनुभयो ।