एसीसी महिला टि–२० एसिया कपमा नेपालको ऐतिहासिक जित, युएई ६ विकेटले पराजित

भक्तपुर, साउन ४
एसीसी महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले ऐतिहासिक जित निकालेको छ । श्रीलंकाको दम्बुलमा शुक्रवार सम्पन्न खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो । जितसँगै नेपालले २ अंक जोडेको छ ।
महिला एसिया कपमा नेपालको यो पहिलो जित हो । यसअघि सन् २०१२ र २०१६ मा दुई पटक एसिया कमा सहभागिता जनाएको नेपाली महिला टोलीले सबै ८ खेलमा हार बेहोरेको थियो । नेपालले एसिया कपको नवौं खेलमा पुगेर पहिलो जित दर्ता गर्न सफल रह्यो ।


नेपालको जितमा ओपनर सम्झना खड्का शानदार व्याटिङ र कप्तान इन्दु बर्माको बलिङले महत्वपूर्ण भूमिका खेल्यो । यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ औं ओभरमा पूरा गर्यो । जसमा ओपनर सम्झनाको ७२ रनको योगदान रह्यो ।
करिअरको पहिला अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ४५ बलमा ११ चौकाको मद्दतले ७२ रन बनाएका हुन । उनले ३५ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेकी थिइन् ।


पुजा महतो ७ रनमा नटआउट रहँदा नेपालका लागि सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रन जोडिन् । रुविना १० रन जोडेर पेभेलियन फर्कीइन् ।
त्यसअघि नेपालले टस जितेर यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो । यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो । यूएईका लागि मध्यक्रमकी ब्याटर खुशी शर्माले ३६ रन जोडिन् । उनले ३९ बल खेल्दै २ चौका प्रहार गरिन् । कविशा एगोदागेले २२ रनको योगदान दिइन् । ओपनर इशा ओजा १० रन जोड्दै दोस्रो ओभरमा रनआउट भएपछि यूएई केही दवाबमा परेको थियो ।


तिर्था सतिशलाई ९ र रिनिथा रजिथ ६ रनमा आउट भएपनि यूएईको रन गति रोकिएन । १० ओभरमा ५७–४ को स्थितिमा रहेको यूएईले इनिङको अन्त्यतिर भने चाहेजस्तो रन जोड्न सकेन ।
नेपालका लागि कप्तान इन्दु वर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले १–१ विकेट हात पारे । रुविना क्षेत्रीले ४ ओभरमा १८ रन र सिता रानामगरले ३ ओभरमा १२ रन खर्चिएर किफायती बलिङ गरे ।

खेलको प्लेअर अफ दी म्याच नेपालकी सम्झना खड्का घोषित भइन ।
नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ । त्यसपछि मंगलबार समूहको अन्तिम खेलमा नेपाल र भारत खेल्नेछन् ।