सडक सञ्जालले मुहार फेरिँदैं सूर्यविनायक–१०

भक्तपुर, साउन ३
कुनैबेला विकट गाउँको रुपमा परिचित भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोल अहिले ग्रामिण सडक पूवार्धारको स्त्तोरन्नती र विकासले मूहार फेरिएको छ ।
विशेष गरी भक्तपुर चक्रपथ अन्तर्गतको सूर्यविनायक नगरपालिका‐१० भंगाल, खड्का गाउँ सल्लाघारी हुदै चाँगुनारायण नगरपालिका‐९ ताथली जोड्ने सडक पक्की र कालोपत्रे भएसँगै यहाँको जनजीवन फेरिएको हो । ग्रामिण परिवेशको चित्तपोलमा सडक पूर्वाधारको विकासले तिब्ररुपमा शहरीकरणको चपेटामा समेत परेको छ ।
भक्तपुर रिङरोडको परिकल्पना करिव ४ दशक अघि भएको थियो । सोही अनुसार तत्कालिन जिल्ला विकास समितिले भक्तपुरका दुई नगरपालिका र १६ वटा गाउँ विकास समिति जोड्ने गरी सडकको रेखांकन गरिएको थियो र प्रत्येक वर्ष सिमित बजेट विनियोजन गर्दै सडक निर्माण र स्त्तोरन्नतीको काम हुँदैं आएको थियो ।
राज्य पुर्नसंरचना अन्तर्गत भक्तपुरका १६ वटा गाविसलाई समायोजन गरी दुई नगरपालिका बनाउने क्रममा चित्तपोल सूर्यविनायक नगरपालिकाको १० औं वडा बन्यो ।


२०७४ को स्थानीय तहको निर्वाचनसँगै सूर्यविनायक–१० ले पनि नयाँ नेतृत्व चयन भयो । सिमित स्रोत साधनका बावजुद वडामा विकासका पूर्वाधार निर्माणले गति लिन थाल्यो र मूख्य प्राथमिकतामा पर्यो सडक सञ्जाल । सोही अनुसार भंगाल, खड्का गाउँ सल्लाघारी हुदै चाँगुनारायण नगरपालिका‐९ ताथली जोड्ने ग्रामिण रिङरोड सडक पक्की र कालोपत्रे भएपछि स्थानीयले सहज महशुस गर्नुका साथै दैनिक जीवन समेत सहज बनेको छ ।
राष्ट्रिय सञ्चार केन्द्रले सूर्यविनायक नगरपालिकाको सहयोगमा आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’मा स्थानीयले ४० वर्ष अगाडि खुलेको सडक एक वर्ष अगाडिसम्म हिडडुल गर्न पनि मुस्किल भएकोमा अहिले सहज भएको बताए ।
२०६३ मा ट्रयाक खेलेको यो सडकले यतिखेर कालोपत्र भएर पूर्णता पाउँदा यहाँका बासिन्दाले गाउँमै सरकार आएको अनुभूति गरेको स्थानीय नविनकुमार खड्काले बताउनुभयो । उहाँले सडक कालोपत्रे भएसँगैं चित्तपोलका ३ हजार ५ सय घरधुरीले सहजता अनुभव गरेको बताउनुभयो ।
“म जन्मेदेखि यो बाटो गोरेटो थियो, पछि सडक फराकिलो बन्यो तर हिलाम्मे सडकमा सवारी साधन गुड्न त परै जाओस वर्षामा पैदल हिड्न पनि मुश्किल थियो, यी अहिले त कालो चिल्लो सडकमा हिड्न पाएका छौँ, भाग्यमानी ठानेका छौँ,” स्थानीय खड्का गाउँका ७० वर्षीय गोपाल खड्काले भन्नुभयो ।


सूर्यविनायक नगरपालिकाका शहरी पूर्वाधार बिकास शाखाका प्रमुख एवं इन्जिनियर जनक न्यौपानेले काभ्रे साँगाबाट प्रवेश गरेसंगै सुरु हुने सूर्यविनायक नगरपालिका –१० भंगाल हुदै खड्का गाउँ सल्लाघारी चाँगुनारायण नपा‐९ ताथली जोड्ने ग्रामिण रिङरोड सडकको कालोपत्र र ढलान गर्ने कार्य सम्पन्न गरेको बताउनुभयो ।
सुख्खा मौषममा समेत आउजाउ गर्न गाह्रो हुने र एम्बुलेन्स समेत आउँन नसक्ने यो सडकमा गतवर्ष एक करोड २४ लाखको लागतमा दुई वटा पुल निर्माण गरेको बताउदै यसवर्ष कालोपत्र गर्ने कार्य सम्पन्न गरेको जानकारी दिनुभयो ।
उहाँले संघीय सरकारको विशेष बजेट र नगरपालिकाको बजेटलाई मिलाएर कूल तीन करोडको लागतमा ६ मीटर चौडा ३ दशमलव ५ किलोमिटर सडकलाई कालो पत्र र उकालोमा ढलान गरेर पक्कि बनाएको बताउनुभयो ।
सडक कालोपत्रे भएपछि स्थानीय उत्पादन बजारसम्म पुर्याउन सहज भएपनि अझै चित्तपोलमा सार्वजनिक यातायातका साधन भने चल्न सकेको छैन । ठूला भन्दा पनि साना सार्वजनिक यातायात सञ्चालनका लागि नगरप्रमुख बासुदेव थापासँग माग गरिएको स्थानीय सुमन कार्कीले बताउनुभयो ।
“गाउँमा उत्पादन भएका तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान निकै सहज भएको छ । काठमाण्डौंबाट तरकारी लिन गाउँमै गाडी आउन थालेपछि यहाँको मुहारनै फेरिएको छ,” उहाँले भन्नुभयो, “अब सार्वजनिक यातायाताको साधन चल्न सके सुनमा सुगन्ध हुने थियो । नगर प्रमुख बासुदेव थापासँग माग गरेका छौं ।”
वडा नं १० का वडाध्यक्ष शिवराम राउतले ४० वर्ष अगाडि ट्रयाक खुलेको सडकमा एक टिप ग्राइबेल समेत नगरेको अबस्थामा नगरपालिकाले कालोपत्र गर्न सफल भएको बताउनुभयो ।
दुर्गम भनिएको यो क्षेत्र ग्रामिण रिङरोड बनेसंगै सुगम बनेपनि खानेपानीको अभाव भने रहेको छ । खानेपानीको अभाव हटाउन नगरपालिकाले रु. ६० लाखको लागतमा घरघरमा धारो वितरणको बन्दोबस्त गरिएको वडाअध्यक्ष राउतले बताउनुभयो ।
खानेपानीको समस्या समाधानका लागि बृहत भंगाल खानेपानी आयोजना र भेतासी खानेपानी आयोजना गरि दुई वटा खानेपानी आयोजना सञ्चालन गरेको बताउदैं खानेपानीको श्रोत नहुदा लिफ्टिङ खानेपानी आयोजना सुरु गर्न लागेको उहाँले बताउनुभयो ।
वडाले ६० प्रतिशत सडक, खानेपानी तथा पूर्वाधारको काम सम्पन्न गरेको र बाँकी ४० प्रतिशत पनि तीन वर्ष भित्र पुरा गरेर दुर्गम क्षेत्रलाई पूर्णरुपमा सुगममा परिणत गर्ने लक्ष्य रहेको राउतले जानकारी दिनुभयो ।
गुणस्तरीय शिक्षाका लागि चार वटा विद्यालय भवन, त्यस्तै स्वास्थ्य चौकी भवन, सामुदायिक भवन र एक करोडको लागतमा राधाकृष्ण मन्दिर निर्माण सम्पन्न गरेको जानकारी दिँदैं उहाँले मन्दिरमा बृन्दावन बनाउन महायज्ञ लगाएर एक करोड संकलन गरेको र वडा कार्यालय पछाडि ५० रोपनी जग्गामा उपत्यकाकै पहिलो नमूना चिया बगान निर्माण गर्न लागेको बताउनुभयो ।