भक्तपुर, साउन २
नेपाल पत्रकार महासंघको सदस्यता सम्बन्धी विवादको समाधान महासंघ भित्रैबाट खोज्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले राजनीतिक विचारका आधारमा खोलिएका संघ संगठनबाट महासंघको समस्याको समाधान खोज्नु विधान विपरित हुने समेत बताए ।
क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले बुधवार मधेश मिडिया हाउसमा आयोजित ‘नेपाल पत्रकार महासंघको विद्दमान समस्या र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा महासंघका पूर्वअध्यक्ष एवम् वरिष्ठ पत्रकार शिव गाउँलेले राजनीतिक दलको प्लेटफर्मबाट समाधान खोजिए पत्रकारिताको व्यवसायिकतालाई अझ कमजोर बनाउने बताउनुभयो ।
उहाँले बलियो गरी प्रश्न गर्नुपर्ने पत्रकारितालाई प्रश्न गर्नै नसक्ने गरी कमजोर भएको बताउनुभयो । “पत्रकारको संस्थाको बारेमा राजनीतिक दलबाट समाधान खोजिन्छ भने त्यही पेशामाथि प्रश्न उठ्छ । महासंघको बारेमा गैर पत्रकारहरुको यतिविग्न चासो किन ?” गाउँलेको प्रश्न गर्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले ठूला संगठनका नेता र अध्यक्ष मण्डलको स्वार्थका कारण महासंघ संकटमा परेको आरोप लगाउनुभयो ।
मोर्चाका तर्फबाट ४ पृष्ठको कार्यपत्र मार्फत श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले महासंघको सदस्यताबारे, महासंघको पुनर्संरचनाबारे, साना तथा स्वरोजगार मिडियाबारे, श्रमजीवीले भोगेका श्रम समस्याबारे विस्तृतमा व्याख्यासहित समाधानका उपाय प्रस्तुत गर्नुभएको थियो ।
सुर्खेत साधारण सभाले बनाएको शुद्धीकरण समितिका सदस्य धर्मेन्द्र कर्णले वर्तमान केन्द्रीय समितिले समितिकै अधिकार खोसेको आरोप लगाउनुभयो ।
मोर्चाका संयोजक योगेन्द्रप्रताप शाहीले आफ्नै संरचनाभित्रबाट समाधान खोज्दा सदस्यताको विवाद केही घण्टाभित्रै सुल्झिने बताउनुभयो । उहाँले राज्यका महत्वपूर्ण संरचना कमजोर गर्ने डिजाइनअन्तर्गत यसो भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।