हरिशयनी एकादशीको अवसरमा तुलसीको बिरुवा रोप्दै, चतुर्मास शुरु

भक्तपुर, साउन २
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको अवसरमा सनातन धर्मावलम्बीहरुले बुधवार घरआँगनको मठमा तुलसीको बिरुवा रोपेका छन । एक महिना अघि जेष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज मठमा रोपिएको हो । यससँगै चतुर्मास समेत शुरु भएको छ ।
सनातन धर्मावलम्बीहरुले चार महिनासम्म प्रत्येक एकादशीको दिन भगवान विष्णुको पुजा आराधना गर्ने चतुर्मास मनाईन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखी मंसिर शुक्ल एकादशी अर्थात हरिवोधिनी एकादशीको तुलसीको विवाहसँगैं चतुर्मास समापन हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यता रहेको छ । यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्व दिइन्छ । यसैगरी यो अवधिमा पर्ने आठ एकादशीलाई विशेषरूपमा लिइन्छ ।
वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्व दिइन्छ । वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन् । चतुर्मासका एकादशीमा काठमाडौं उपत्यकाका चार नारायण र बूढानीलकण्ठ मन्दिरमा घुइँचो लाग्छ ।
कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।