बोदेमा २९ गरीब परिवारलाई विद्युतीय चुल्हो वितरण

भक्तपुर, साउन १
मध्यपुर थिमि नगरपालिका–८, बोदे क्षेत्रका गरीब, विपन्न, दलित र आर्थिक अवस्था कमजोर भएका घर परिवारलाई विद्युतीय चुल्हो (ईण्डक्सन चुल्हो) वितरण गरिएको छ । मध्यपुर थिमि नगरपालिकाबाट प्राप्त विद्युतीय चुल्हो वडामा प्राप्त निवेदनका आधारमा वडा समितिले छानबिन गरी २९ परिवार आर्थिक अवस्था कमजोर विपन्न तथा दलित परिवारलाई वितरण गरिएको हो ।
वडा भित्रका सामुदायिक विद्यालय, शहरी स्वास्थ्य केन्द्र र वडा कार्यालयलाई यस अघि नै नगरपालिकाले विद्युतीय चुल्हो वितरण गरिसकेको छ ।


विद्युतीय चुल्हो वितरण गदैै वडा अध्यक्ष रमेश थापा क्षेत्रले पहिलो चरणमा नगरपालिकाबाट प्राप्त २९ वटा चुल्हो वडा क्षेत्रमा वितरण गरिएको जानकारी दिँदैं नगरपालिकाबाट थप प्राप्त भएपछि प्राथमिकता र आवश्यकताको मापदण्ड अनुसार वितरण गर्दै जाने बताउनुभयो । उहाँले प्राप्त चुल्होको सदुपयोग गर्न अनुरोध समेत गर्नुभयो ।
विद्युतीय चुल्होको प्रयोगले गरीव परिवारले महँगो ग्याँस खरिद गर्दा पर्ने आर्थिक भारबाट थोरै भए पनि राहत पाउने विश्वास नगरपालिकाले लिएको छ । ग्याँस भन्दा सस्तोमा खाना पकाउन सकिने भएकाले चुल्हो प्राप्त गर्ने गरीव परिवारहरुले खुशी ब्यक्त गरेको वडाको प्रशासकिय प्रमुख रञ्जन प्रजापतिले बताउनुभयो ।