एसईई उत्तीर्ण विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको सम्मान

भक्तपुर, साउन १
नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट २०८० को एसईई परीक्षामा सम्मिलित भई ४ जिपिए अंकसहित उत्तीर्ण हुने यूनिटी स्कुलका आशिष थापा क्षत्रीसहित सबै विद्यार्थीहरु र शतप्रतिश उत्तीर्ण नतिजा ल्याउने विद्यालयहरुलाई अभिनन्दन गरेको छ ।
भक्तपुरमा नेसनल प्याव्सन आवद्ध ईमेज स्कुल, यूनिटी स्कुल, सरस्वती शिक्षा सदन स्कुल, ईडेन गार्डेन स्कुल र आरक्षण नेसनल स्कुलले शतप्रतिशत नतिजा हासिल गरेको थियो ।
उत्कृष्ट विद्यार्थी र विद्यालयलाई राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का निर्देशक नन्दलाल पौड्यालले प्रशंसा पत्र प्रदान गर्दै अभिनन्दन गर्नुभएको हो । यस्तै कार्यक्रममा एसईई २०८० को समग्र औसत नतिजा भन्दा बढी उत्तीर्ण गराउन सफल विद्यालय क्वालिटी स्कुल, साइनिगं स्कुल, डेमोस स्कुल, मदरल्याण्ड स्कुल, ग्लीटर फ्युचर स्कुल, विमल मेमोरियल स्कुल, पारीजात विद्याकुन्ज स्कुल, क्रियटिभ स्कुल, सेन्ट जोन स्कुल, सेकरिट हार्ट स्कुल, रुबी भ्याली स्कुल र हिमशिखर स्कुललाई पनि सम्मान गरिएको थियो ।
यसैगरी नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरुमध्ये २०८० मा कक्षा ८ को आधारभूत तह (बिएलई) मा उत्कृष्ट जिपिए ल्याउने मदरल्याण्ड स्कुल, ईडेन गार्डेन स्कुल, डेमोस स्कुल, विमल मेमोरियल स्कुल, सेन्ट जोन स्कुल र यूनिटी स्कुलका १२ जना विद्यार्थीहरु र विद्यालयलाई पनि प्रशंसा पत्र एवं अभिन्नदन गरिएको थियो ।
कार्यक्रममा निर्देशक पौड्यालले उत्कृष्ट नतिजाको लागि शिक्षकहरुले पाठ्यक्रम र विद्यार्थीहरुको क्षमतालाई समेत ध्यानमा राखी आफ्नो सक्षमता देखाउनु पर्ने र मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो ।
सूर्यविनायक नगरपालिकाको शिक्षा शाखा प्रमुख रत्न बहादूर कटवालले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई नेपालमा नै बस्ने र पढ्ने सोच बनाई अगाडि बढ्न सुझाव दिनुभयो ।
चाँगुनारायण नगरपालिकाको शिक्षा शाखा प्रमुख दिनेश अर्यालले विद्यार्थी एवं विद्यालयले आगामी दिनहरुमा अझ मिहिनेत गर्न यस्तो कार्यक्रमले ठूलो भूमिका खेल्ने जनाउनुभयो ।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले २०७२ मा ग्रेडिगं सिस्टम सुरु भएपछि एसईईमा नपढे पनि उत्तीर्ण भइन्छ भन्ने मानसिकता विद्यार्थी, शिक्षक र अभिभावकलाई पर्न गएको र कुनै पनि विद्यार्थीले कक्षा दोहो¥याउन नपर्ने भन्ने भ्रमले गर्दा समग्र देशभरकै २०८० को एसईईको नतिजामा असर परेको बताउनुभयो ।
मिड भ्याली कलेजको सहकार्यमा सम्पन्न कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, मिडभ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्लभ, नेसनल प्याव्सन भक्तपुरका सचिव कुमार थापालगायतले विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।