अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कप

भक्तपुर, असार ३१
अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले पराजित गर्दै कीर्तिमानी १६ औं पटक कोपा अमेरिका कपको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको फाइनलमा लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि अर्जेन्टिनाले उपाधि जितेको हो ।
मार्टिनेजले ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गरे । लाउटारो र लो सोल्सो दुवै ९७औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ जारी कोपाकै सर्वाधिक गोलकर्ता मार्टिनेज नायक बने । उनको प्रतियोगितामा यो पाँचौ गोल हो । उनी प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने ।


अर्जेन्टिनाका कप्तान तथा सुपरस्टार लिओनल मेसी चोटका कारण दोस्रो हाफमा मैदान छोडेका थिए । उनलाई ६६औं मिनेटमा निकोलस गोन्जालेजले रिप्लेस गरेका थिए ।
च्याम्पियन बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधिक सफल टोली बनेको छ । । यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेको थियो । अब अर्जेन्टिनाले उरुग्वेलाई पछि पारेको छ ।
सन् १९९४ पछि लामो समय कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले पछिल्लो ३ वर्षमा लगातार तीन मुख्य उपाधि जित्न सफल भएको छ । यसअघि अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो भने सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो ।