इंग्ल्याण्डलाई हराउँदैं स्पेनले जित्यो युरो कप

भक्तपुर, असार ३१
स्पेनले युरो कप २०२४ को उपाधि जितेको छ । जर्मनीको बर्लिनमा आइतवार राती सम्पन्न फाइनलमा इङ्ल्यान्ड माथि २–१ को जित निकाल्दै स्पेनले युरो कपको उपाधि जितेको हो ।
स्पेनले यो कीर्तिमानी चौंथो पटक उपाधि जितेको हो । स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन यो जितसँगैं युरोको सर्वाधिक सफल टोली बनेको छ ।


स्पेनलाई कीर्तिमानी चौंथो उपाधि जिताउन निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाए । स्पेनका लागि दुई युवा विंगर गोलमा संलग्न रहे । लामिन यमालको पासमा निको विलियम्सले गोल गरेका हुन ।


तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । खेलको ७० औं मिनेटमा मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काए ।
निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन । त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो ।
इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन । इङ्ल्यान्डले १९६६ पछिको उपाधि खडेरी आज समेत तोड्न सकेन ।


स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्दै उपाधि जितेको हो । स्पेनले समूह चरणमा क्रोएसियालाई ३–० तथा इटली र अल्वानियालाई समान १–०ले पराजित गर्दै क्लिनसिट राखेको थियो । यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४–१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २–१ को नतिजामा पराजित गरेको हो । स्पेनले प्रतियोगिताभर कुल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो ।