कांग्रेस एमाले सत्ता साझेदारी लोकतन्त्रको स्थायित्व र अग्रगमनका लागि – एमाले नेता बस्नेत

भक्तपुर, असार ३०
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरण लोकतन्त्रको स्थायित्व र अग्रगमनका लागि भएको बताउनुभएको छ ।
नेपाल प्रेस सोसाईटीले आइतवार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा नेता बस्नेतले कांग्रेस र एमाले आफैंमा प्रतिष्पर्धी राजनैतिक दल भएकाले यी दुई ठूला दल मिल्दैमा लोकतन्त्र खतरामा पर्ने वा लोकतान्त्रिक मूल्य र मान्यता कमजोर नहुने स्पष्ट समेत पार्नुभयो ।
उहाँले कहिले काही सहमतीले मूतरुप नलिँदैं सार्वजनिक गर्नु ठिक नहुने भन्दै कांग्रेस र एमालेबीचको सहमती उचित समयमा सार्वजनिक हुने बताउनुभयो । उहाँले सहमतीका मूलभुत विषय सार्वजनिक भइसकेको बताउँदैं उक्त सहमती अनुसार मुलुकमा राजनैतिक स्थिरता कायम हुने विश्वास दिलाउनुभयो ।
उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै साना दल विशेष गरी संसदमा कम सिट भएका दलहरुले पटक पटक सत्तासाझेदार दल परिवर्तन गरी शासन गर्ने प्रवृत्ति देखिएको कारण कांग्रेस एमाले एक ठाउँमा उभिनु परेको जिकिर गर्नुभयो ।
भुटानी शरणार्थी र गिरिबन्धु टि प्रकरणका कारण कांग्रेस एमाले मिलेर सरकार ढालेको टिप्पणीको खण्डन गर्दै नेता बस्नेतले भन्नुभयो, “हिजो पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका सांसद टोपबहादुर रायमाझी, कांग्रेस सत्तामा रहेको बेला पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ पर्दा नढलेको सरकार अहिले भुटानी शरणार्थी र गिरिबन्धु टि प्रकरणका कारण सरकार ढाल्यो भन्नुमा कुनै दम छैन ।”
उहाँले सत्ता र सरकारमा रहनु अलग अलग विषय भएको बताउँदैं रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने सत्तामा नभइ सरकारमा मात्र बसेको टिप्पणी गर्नुभयो । उहाँले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने, जीवि राई पक्राउ गर्न नसक्ने, पूर्व सभामुखलाई पक्राउ गरी छाडेको, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुरमा सहकारी ठगी सम्बन्धी समाचार संप्रेषण भएकै कारणले मात्र कमजोर मुद्दामा पक्राउ गरी भारतीय साउथ इण्डियन फिल्मी शैलीमा अस्पताल पुर्याएर छाडिएको भन्दै लामिछानेको चर्को आलोचना गर्नुभयो ।
उहाँले काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को पनि आलोचना गर्दै भत्काउने र विध्वंस गर्दैमा विकास नहुने बताउनुभयो । उहाँले हिजो अरु निकायले सम्पन्न गरेका पूर्वाधारमा केही फुलका गमला राखेकै भरमा बालेन सिटी वाह भन्नेहरु आज वर्षाले काठमाण्डौंका विभिन्न भाग डुवानमा पर्दा किन केही बोल्दैन भन्दै प्रश्न समेत गर्नुभयो ।
नेता बस्नेतले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई विकासका बाधक भएको आरोप लगाउनुभयो । उहाँले नेमकिपाबाट विजयी संघीय सांसद्ले जिल्लामा बजेट ल्याउने पहल नगरेको बताउँदैं सांसदको मूख्य जिम्मेवारी कानून बनाउने भएता पनि नेमकिपा जस्तो एक दुई सिट जितेर कानून निर्माणमा कुनै भूमिका नहुने स्पष्ट पार्नुभयो ।
२०७९ को संघीय संसदको निर्वाचनका दौरान ख्वप कलेजलाई अवैधानिक भनी टिप्पणी गर्नुभएका बस्नेतले पुनः ख्वप कलेको वैधानिकतामाथि प्रश्न उठाउनुभयो । “ख्वप कलेजलाई वैधानिकता दिनुपर्छ भनेर विषय उठाएका कारण मलाई निर्वाचनमा हराए । भक्तपुरका राजनैतिक नेता भएका कारण ख्वप कलेजको वैधानिकताको विषयमा भोली आफुे पनि जवाफ दिनुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले २०७० मा निर्वाचन हारेपनि तत्कालिन सुशिल कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री भएर भक्तपुरलाई सिंहदरवारसँग जोड्ने काम गरेको र भक्तपुरमा विकास निर्माणको बाढी ल्याउन सफल भएको दावी गर्नुभयो ।
कार्यक्रममा सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले सोसाईटीले भक्तपुरका स्थानीय एजेण्डासँगैं राष्ट्रिय राजनीति, घटना र विकास निर्माणका बारेमा आवाज उठाइरहने बताउनुभयो ।