केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखी श्रावणी मेला

भक्तपुर, असार ३०
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखी श्रावणी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष झैं यसवर्ष पनि साउन १ गतेदेखी भदौ ६ गतेसम्म डोलेश्वरमा श्रावणी मेला लाग्ने भएको हो ।
मेला साउन १ गते बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी शुरु हुने केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले आइतवार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
मेला अवधीभर प्रत्येक सोमवार र शनिवारका दिन विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन र कलाकारहरुद्धारा भजनकृतन तथा प्रस्तुती हुनेछ । विशिष्ट व्यक्तिहरुको आतिथ्यतामा विमला गंगा आरती हुने अध्यक्ष बस्नेतले बताउनुभयो । भाद्र ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिनेछ ।
डोलेश्वर महादेवलाई वि. सं. २०६६ भाद्र ६ गते केदारनाथको शिर भएको घोषणा गरिएको थियो । सोही अवसरमा प्रत्येक वर्ष भाद्र ६ गते डोलेश्वरको विशेष पुजाका साथै विविध कार्यक्रम र श्रावणी मेलाको समापन समारोह हुँदैं आएको छ ।
यस बर्ष मेला सम्पन्न गर्न करिव १० लाख खर्च हुने अनुमान रहेको उहाँले बताउनुभयो । श्रावणी मेलामा शनिबार र सोमबार दर्शनाथीको अत्याधिक भीड हुने भए पनि बढीमा आधा घण्टामा महादेवको दर्शन र पुजा गर्न पाईने व्यवस्था गरिएको छ । अध्यक्ष बस्नेतका अनुसार, यसबर्ष मेलामार्फत भेटी र चन्दा सहयोगबाट १ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ ।
मेला व्यवस्थापनका लागि अध्यक्ष बस्नेतको संयोजकत्वमा मेला व्यवस्थापन मूल समिति गठन गरिएको र आवश्यकता अनुसार विविध उपसमितिहरु गठन भएको समितिका महासचिव हरिशरण बस्नेतले बताउनुभयो ।
मेलामा सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती डोलेश्वर प्रहरी चौकीसँग समन्वय र छलफल गरिएको छ । यातायात र पार्किङ व्यवस्थापनका लागि ट्राफिक प्रहरी परिसर भक्तपुरसँग आवश्यक समन्वय गरिएको जानकारी दिँदैं महासचिव बस्नेतले स्वास्थ्य शिविर नेपाली सेनाको इन्द्र बक्स गण सूर्यविनायक र विभिन्न अस्पतालले सञ्चालन गर्नेछ ।
मेला व्यवस्थापनका लागि स्थानीय युवा क्लव, महिला समूह, स्थानीय टोल सुधार समिति, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाईटी, सामूदायिक वन समिति तथा विभिन्न संघसंस्थाहरुले स्वय्मसेवकका साथै भक्तजनको सहजताको लागि काम गर्ने महासचिवले बस्नेतले बताउनुभयो ।
सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसंगै पर्यटकीय गन्तव्यको रुपमा समेत बिकास हुंदै गएको भन्दै केदारनाथको शिर डोलेश्वर महादेव जिल्ला र देशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भइसकेको धार्मिक स्थालका रुपमा परिचित भएको बताउनुभयो ।