मदरल्याण्डमा ‘सिकाउनलाई पढौँ’

भक्तपुर, असार ३०
भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नलिञ्चोकस्थित मदरल्याण्ड स्कुलले आफ्ना शिक्षकहरुलाई ‘सिकाउनलाई पढौँ’ अभियानलाई सार्थक बनाउन र पठन संस्कृति विकासको लागि अभिमुखीकरण गरेको छ ।
मदरल्याण्डले स्कुलमा कार्यरत ४२ जना शिक्षक शिक्षिकाहरुलाई शनिवार प्रशिक्षकद्वय हरिहर तिमिल्सिना र सुदर्शन घिमिरेले दुई चरणमा अभिमुखीकरण गरेको हो ।
अभिमुखीकरणमा प्रशिक्षक हरिहर तिमिल्सिनाले एक शिक्षकले कम्तीमा महिनाको एउटा किताब पढ्नै पर्ने सन्दर्भ जोड्दै किताबले नै शिक्षकको सक्षमता बढाउने र त्यसले विद्यार्थीहरुमा समेत पढ्ने हौसला बृद्धि हुने बताउनुभयो ।
अर्का प्रशिक्षक सुदर्शन घिमिरेले किताब यस्तो औषधि हो जसको निरन्तर अध्ययनले मानिसलाई नयाँ जीवन प्रदान गर्छ र व्यवहारिक जीवनमा आइपर्ने तनावलाई समेत हटाउन मद्दत गर्छ भन्दै प्रत्येक शिक्षकले हरेक दिन समय तालिका बनाई किताब पढ्ने बानी बसाल्नु पर्ने कुरामा जोड दिनुभयो ।


मदरल्याण्डका प्रिन्सिपल संजय खड्काले शिक्षकले सिकाई क्रियाकलापका लागि पहिला आफू अध्ययनशील बनाउनु पर्ने जसका लागि अतिरिक्त किताबहरु पढ्ने गर्नु पर्दछ भन्ने उद्देश्यले ‘सिकाउनलाई पढौँ’ कार्यक्रम राखिएको बताउनुभयो ।
“सिकाउनलाई पढ्नु पर्छ । शिक्षकहरुको शैक्षिक योग्यता महत्वपूर्ण पक्ष हो तर शिक्षकले समयसँगै आफ्नो योग्यता र क्षमतालाई परिस्कृत गर्न सके मात्र अहिलेका बालबालिकाहरुलाई सिकाउन सकिन्छ,” उहाँले भन्नुभयो ।
सिकाउनलाई पढौं अभियानले शिक्षकले आफ्नो पेसामा आधारित ज्ञानलाई बढोत्तरी गर्नुका साथै चौतर्फी सक्षमता संकलन गर्न सक्ने विश्वास गरिएको छ । त्यसैगरी शिक्षकले विविध क्षेत्रका ज्ञान एवं क्षमता अभिवृद्धि गरी विद्यार्थीलाई बाँढ्न सक्ने भएकाले पनि मदरल्याण्डले सिकाउनलाई पढौं कार्यक्रम आयोजना गरेको प्रिन्सिपल खड्काले बताउनुभयो ।
“महिनाको एउटा मात्रै किताब पढ्ने हो भने पनि एक वर्षमा १२ वटा किताब पढ्दा शिक्षकको कार्यशैलीमा निकै परिवर्तन आउँछ । शिक्षकको प्राप्त गरेको ज्ञानको प्रतिबिम्ब र प्रभाव हरेक विद्यार्थी र कक्षामा पर्छ । जसबाट विद्यार्थीले प्रत्यक्ष रूपमा फाइदा लिन सक्छन्,” उहाँले भन्नुभयो ।