कांग्रेसले योगदान र योग्यताको आधारमा मन्त्री छनोट गर्ने

भक्तपुर, असार २९
नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गर्दै सरकारमा पठाउने मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । कांग्रेसको शनिवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले बैठकले विभिन्न चार निर्णय गर्दै मन्त्रीहरु छनोटको मापदण्ड निर्धारण गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदैं कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस सरकारमा सहभागी हुने निर्णय भएको दिँदैं मन्त्रीको नामका विषयमा आन्तरिक गृहकार्य भइरहेको बताउनुभयो ।
उहाँले मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय भएको बताउनुभयो । ‘प्रधानमन्त्रीको नियुक्ति नै भएको छैन । उहाँको नियुक्ति र शपथग्रहणसँगै हाम्रा मन्त्रीहरू पनि टुंगिन्छन्,’ डा.महतले भन्नुभयो, ‘सबै मन्त्री एकैपटक चयन हुन्छ ।’
बैठकले प्राकृतिक विपत्ति र दुर्घटनाबारे पनि निर्णय गर्दै प्राकृतिक विपदका घटनाहरू र दुर्घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै हराएकाहरूको खोजी र नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई आग्रह गरेको डा. महतले बताउनुभयो ।
शुक्रबार मुग्लिन–नारायणगढ सडकको सिमलटारमा पहिरोसँगै बगेको दुइटा बस र त्यसमा सवार यात्रुहरूको अवस्था अझै अज्ञात छ । त्यस्तै शुक्रबार नै पहिरोले घर पुरिँदा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको थियो ।
कांग्रेसले विपत्तीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
त्यसैगरि सडक दुर्घटनाको दुःखद अवस्था अन्त्य गर्न सरकारले पर्याप्त अध्ययन गरी सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक कानुनी व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गरिएको प्रवक्ता डा. महतले जानकारी दिनुभयो ।