आभाष समूहद्वारा मेथाडोन हाइड्रोक्लोराइडको बट्टा नष्ट

भक्तपुर, असार २८
क्षति न्यूनीकरण परियोजना अन्तर्गत भक्तपुरमा लागू औषध दुव्र्यसनीमा फसेका युवाहरूलाई उपचार प्रयोजनमा प्रयोग गरिने मेथाडोन हाइड्रोक्लोराइडको १ लिटरको ८१ थान खाली बट्टा आभाष समूहले शुक्रवार नष्ट गरेको छ ।
स्थानीय जनप्रतिनिधि, प्रहरी, पत्रकार तथा स्वास्थ्य सेवा विभागको प्रतिनिधिको उपस्थितिमा दुई वर्षको अवधिमा प्रयोग गरिसकेका उक्त औषधिका बट्टाहरू सृजनानगरस्थित समुहको आफ्नै कार्यालयमा नष्ट गरिएको हो ।
अशिक्षा, खराव संगत, पारिवारिक तनाव लगायत विभिन्न कारणले लागू औषधको लतमा फसेका युवाहरूलाई कुलतको दलदलबाट निकालेर सामान्य जीवनतर्फ डोर्याउने उद्देश्यले ग्लोवल फन्ट तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ११ वर्षदेखि आभास समूहले भक्तपुर जिल्लाभरि काम गर्दै आएको आभास समूह भक्तपुरका कार्यालय प्रमुख क्षितिज बस्नेतले जानकारी दिनुभयो ।
नेपालमा मेथाडोन हाइड्रोक्लोराइड सामान्य तवरले बिक्रि वितरण गर्न पाईदैन । निश्चित उद्देश्यको लागि यो प्रतिवन्धित औषधी नेपाल सरकार स्वास्थ्य विभागद्वारा नै खरिद गरी परियोजना चलाउने ललितपुरको पाटन मेन्टल विभाग र आभाष समूह जस्ता आधिकारिकता पाएका संस्थाहरू मार्फत त्यस्ता नागरिकको पहुँचमा पुर्याउने गरेको छ ।
यो औषधी लागू औषधको एन्टिडोज नभई त्यस्तै प्रकारको कम्पोजिसन हो । जसले प्रयोगकर्ताको जीवनमा थप क्षति हुन नदिई विस्तारै कुलत छोडाउछ र सामान्य जीवनतर्फ फर्काउँछ । आभास समूहबाट सेवा लिएका त्यस्ता थुप्रै युवाहरू निको भएका उदाहरणहरु रहेको संस्थाका कर्मचारी राजकुमार साहले बताउनुभयो ।