नगरबासीको स्वास्थ्यको जिम्मा नगरपालिकाले लिने – नगरप्रमुख श्रेष्ठ

भक्तपुर, असार २८
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीको स्वास्थ्यको जिम्मा नगरपालिकाले लिने नीति अवलम्बन गरिएको बताउनुभएको छ । वडा नं. ५ को भुलाँखेलमा नवनिर्मित वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले निःशुल्क स्वास्थ्य बिमाको दायरा बढाउँदैं सम्पूर्ण नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभएको हो ।
उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई भक्तपुर जिल्लाकै उत्कृष्ट र स्वास्थ्य क्षेत्रको सबै सेवा प्रवाह हुने हस्पतालको रुपमा विकास गर्ने योजनाका साथ काम भइरहेको बताउनुभयो ।


कोरिया सरकारको सहयोगमा अत्याधुनिक अस्पताल भवन निर्माण हुँदैंछ । दुई वर्षमा उक्त भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । त्यसपछि अस्पताललाई २ सय शैयामा बिस्तार गरी स्वास्थ्यका सबै सेवा उपलब्ध हुने गरी विकास गर्ने योजना रहेको छ, उहाँले भन्नुभयो ।
उहाँले नगरबासीलाई सरल र सहजरुपमा सेवा प्रवाहका लागि नगरपालिकाको भौतिक पूर्वाधार सुधार अन्तर्गत वडाको प्रशासकिय भवन निर्माणसँगै नगरपालिकाको आफ्नै प्रशासकिय भवन निर्माणका लागि जग्गा प्राप्ती अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले यसै वर्षको कार्तिकसम्म नगरपालिकाको प्रशासकिय भवन शिलान्यास गरी निर्माण शुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।


उहाँले नगरपालिकाले दिर्घकालिन योजना अन्तर्गत नगरपालिका र नगरबासीको आय आर्जनमा टेवा पुग्ने गरी पर्यटन विकासको योजना अघि बढाएको जानकारी दिँदैं त्यसका लागि नगरबासीले पनि परम्परागत बस्ती क्षेत्रमा घर निर्माण गर्दा परम्परागत शैलीले निर्माण गरी सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले निर्वाचनका बेला जनता समक्ष गरेका प्रतिवद्धता पाँच वर्षे कार्यकालमा पुरा गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई अंग प्रत्यारोपण केन्द्रको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।


नेपाली कांग्रेसका मध्यपुर थिमि नगरसभापति हरीदास प्रजापतिले जनप्रतिनिधिहरुले नविनतम कार्य गरेर देखाउन सकेमात्र सही अर्थमा राजनीति गरेको ठहर्ने बताउनुभयो । जनचाहना अनुसार काम गर्न सकेमात्र सही मानेमा जनप्रतिनिधि हुने बताउँदैं जनताको काम गर्न नसक्नेलाई जनप्रतिनिधि भन्न नसक्ने टिप्पणी गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले स्थानीय तहले दिने सेवा प्रवाहलाई चुस्त बनाउन कानुन, संरचना, जनशक्ति र स्रोत साधनको आवश्यकता पर्ने भएकाले नगरपालिकाले वडाहरुको भवन पनि सुविधा सम्पन्न बनाउने नीति लिएको बताउनुभयो । उहाँले वडाको नयाँ भवनले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


वडा अध्यक्ष बालकृष्ण मन्द्यो श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. ४ का वडाअध्यक्ष बालकृष्ण पात्या श्रेष्ठ, पूर्व नगर उपप्रमुख अञ्जनादेवी मधीकर्मी, पूर्व वडाअध्यक्ष ओमप्रकाश श्रेष्ठ, वडाका प्रशासकिय प्रमुख रामसुन्दर श्रेष्ठलगायतले शिक्षा र स्वास्थ्यमा फड्को मारेको मध्यपुर थिमि नगरपालिकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
परम्परागत शैलीको दुई तल्ले भवनमा वडा नं. ५ को शहरी स्वास्थ्य क्लिनिक पनि सञ्चालन हुने व्यवस्था गरिएको छ । वडा कार्यालयमा प्रशासनिक कक्षसहित बैठक कक्ष, वडाअध्यक्षको कक्ष रहेको छ ।
दुई चरणमा सम्पन्न गरेको उक्त भवनको कुल लागत एक करोड ७ लाख ८७ हजार ४५४ रुपैंया रहेको छ । पहिलो चरणको निर्माण कार्य शोभा बिल्डर्सले ३ लाख ४८ हजार ४९७ रुपैंयामा गरेको थियो भने दोस्रो चरणको कार्य डि एण्ड पी कम्पनीले ७३ लाख ६ हजार ९५६ रुपैंया सम्पन्न गरेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।