दसौं राष्ट्रिय खेलकुदमा ३५ खेलका ४१९ स्पर्धा प्रस्ताव

भक्तपुर, असार २८
कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेलका ४१९ स्पर्धामा प्रतिष्पर्धा हुने प्रस्ताव गरिएको छ । दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बसेको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सो प्रस्ताव गरेका हुन ।
सदस्य–सचिव घिसिङले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये प्याराग्लाइडिङ बाहेक ३५ खेल प्रस्ताव गरेको जानकारी दिए ।
प्रस्ताव गरिएका खेलहरुमा एथलेटिक्स, व्याडमिन्टन, क्रिकेट महिला÷पुरुष, फुटबल महिला÷पुरुष, टेनिस, बक्सिङ, भलिबल महिला÷पुरुष, जिम्न्यास्टिक, ह्याण्डबल महिला÷पुरुष, सफ्ट टेनिस, स्क्वास, उसु, बास्केटबल महिला÷पुरुष, आर्चरी, फेन्सिङ, फुलकन्ट्याक्ट कराँते, जुडो, शारीरिक सुगठन, बुद्धिचाल, पौडी, टेबल टेनिस, सेपाक्टाक्रो महिला÷पुरुष, हक्की महिला÷पुरुष, भारात्तोलन, सुटिङ, गल्फ, साईक्लिङ, ट्रायथेलन, रग्वी महिला÷पुरुष, कबड्डी महिला÷पुरुष, कुस्ती, तेक्वान्दो, खोखो महिला÷पुरुष, कराँते, आईटिएफ तेक्वान्दो रहेका छन ।
राखेपले दसौं राष्ट्रिय खेलकुद मंसिर २ देखि ९ गतेलाई प्रस्ताव गरिसकेको छ । त्यसअघि विभिन्न ६ खेलको प्रतियोगिता भने कात्तिक २७ गतेदेखि नै सुरु गर्ने गरी प्रस्ताव गरिएको छ ।
महिला फुटबल, उसु, पुरुष÷महिला बास्केटबल, जुडो, पुरुष÷महिला हक्की र तेक्वान्दो खेललाई दसौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै गर्ने गरी प्रस्ताव गरिएको हो । निर्णायक संख्या १ हजार ४ सय ९९ प्रस्ताव गरिएको छ ।
बैठकमा सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी गराए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताए ।
उनले बृहत राष्ट्रिय खेलकुद देशकै ओलम्पिक खेलकुदका रुपमा रहेको हुँदा समयमै आयोजनाको विकल्प नभएको बताउँदै दसौं राष्ट्रिय खेलकुदलाई सफलतापूवर्क सम्पन्न गर्न सरोकारवाला सबै जिम्मेवार र गम्भीर हुनु जोड दिए ।
सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न परिषद् तयार रहेको बताउँदै खेलकुदलाई व्यवसायिक बनाउनु पर्ने आवश्यकता औल्याए ।
उनले लोगो र मस्कट छनोट भइसकेको अवगत गराउँदै खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयार थालिएको जनाकारी दिए ।
सदस्यसचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलन अनुसार १०औं राष्ट्रिय खेलकुद सकिए लगत्तै नेपालमा पहिलो पटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताउँदै प्रस्ताव गरिएका बुदाँमा यथशीघ्र सुझाव उपलब्ध गराउन आग्रह गरे ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकका दौरान खेलकुद सञ्चालन निर्देशिका संशोधनका विषयमा प्राप्त सुझावलाई सम्बोधन गरिने बताउँदै तोकिएकै समयमा प्रतियोगिता गर्नुको विकल्प नरहेको धारणा राखे ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले आवासको व्यवस्थापन कारण कर्णालीका पाँच जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउँदै बाँकी खेलका विषय चाँडै टुंगो लगाउन आग्रह गरे ।
बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्यसचिवहरूले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनुपर्ने, एक खेलमा कम्तीमा पाँच टिम सहभागी हुनुपर्ने, बजेट समयमा निकासा हुनुपर्नेलगायतका विषयमा धारणा राख्नु राखेका थिए ।