चितवनमा पहिरोले २ वटा यात्रुबस बगाएको आशंकामा खोजी शुरु

भक्तपुर, असार २८
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा यात्रु बहाक बस बगाएको आशंका गरिएको छ । शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा गएको पहिरोले विरगन्जबाट काठमाडौं आउँदै गरेको विङ्गर र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस बगाएको आशंकामा खोजी शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।
विरगन्जबाट काठमाडौं आउँदै गरेको विङ्गरमा अन्दाजी २० देखि २२ र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्समा ४२ यात्रु रहेको अनुमान प्रहरीको छ ।
बसको खोजीमा चितवन प्रहरीका एसपी र डिएसपी लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएको रिजालले बताउनुभयो । पहिरोले दुवैतर्फ सडक अवरोध भएको छ ।