पाइलटले उडान नगरेपछि नलिञ्चोकको हेलिपोर्ट अलपत्र

भक्तपुर, असार २७
भक्तपुरको नलिञ्चोकमा सञ्चालन गरिएको ‘हेलिपोर्ट’ सञ्चालनमा आएको एक महिना नबित्दै अलपत्र परेको छ । हेलिकप्टर पाइलटहरुले उच्च सुरक्षा जोखिम रहेको, आवश्यक पूर्वाधारको कमी र ईन्धन भर्ने व्यवस्था नभएको लगायतका कारण देखाउँदै हेलिकप्टर उडान नगरेपछि सञ्चालनमा आएको २० दिनमै नलिञ्चोकको हेलिपोर्ट अलपत्र परेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर सेवा पूर्णरूपमा स्थानान्तरण गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा ‘हेलिपोर्ट’ निर्माण गरिएको हो । करिव १२ करोडको लागतमा तयार गरिएको उक्त हेलिपोर्ट नेपाल नागरिक उड्डयन प्राधिकरणले ७ असारदेखि सञ्चालनमा ल्याएको थियो ।
हेलिपोर्ट सञ्चालनमा आएको दुई साता नबित्दै हेलिकप्टर उडाउने ४७ पाइलटहरूले गत असार १७ गते नलिञ्चोक हेलिपोर्टमा उच्च उडान सुरक्षा जोखिम रहेकाले २७ असारदेखि कुनै पनि उडान नगर्ने लिखित जानकारी उड्डयन प्राधिकरणमा बुझाएका थिए ।
उनीहरुले हेलिपोर्टको भौगोलिक अवस्थिति, वरिपरिको बाक्लो बस्ती, पूर्वाधारको पूर्णतयारी नहुनु, सुरक्षा संवेदनशीलतामा पर्याप्त ध्यान नदिएको लगायतका कारण उल्लेख गर्दै नलिञ्चोकबाट हेलिकप्टर उडान नगर्ने जनाएका थिए ।
यसका साथै नलिञ्चोक हेलिपोर्टमा हवाई इन्धन (एयर टर्बाइन फ्युल) सुविधा, अग्नि नियन्त्रण उपकरण, कार्गो, यात्रु तथा सामान जाँच्ने स्क्यानर मेसिनलगायत केही पनि छैन । हेलिकप्टरमा हाल्ने इन्धन त्रिभुवन विमानस्थलबाट जर्किनमा बोकेर नलिञ्चोक हेलिपोर्टमा लगिरहेको एक पाइलटले बताए ।


प्राधिकरणले उडान सुरक्षामा जोखिम नरहेको सैद्धान्तिक प्रतिवेदन तयार गरी उक्त स्थानमा हेलिपोर्ट निर्माण गरेको थियो । तर पाइलटहरुले भने उच्च सुरक्षा जोखिम रहेको दावी गरेका छन । “उडाउने हामी हो, यत्ति धेरै जोखिम मोलेर हेलिकप्टर उडाउनुको अर्थ छैन,” ती पाइलटले भने ।
प्राधिकरणका अधिकारीहरु भने नलिञ्चोक हेलिपोर्ट निर्माण गर्नुअघि तयार पारिएको ‘सेफ्टी रिस्क एसेसमेन्ट’ (एसआरए) मा उडान सुरक्षा जोखिम सूची बनाएको बताउँछन । उनका अनुसार ठूला पहाड, अग्ला घर केही छन् भने सुरक्षा सावधानी अपनाउन सकिन्छ भनेर सबै एसआरएमा उल्लेख छ ।
प्राधिकरणको पहिलो प्राथमिकता नै उडान सुरक्षा रहेको बताउँदैं उनले हेलिपोर्टमा फ्लड लाइट, इन्धन ट्यांक, स्क्यानर मेसिन लगायत जडान गर्नै बाँकी रहेको र त्यसका लागि थप १० देखि १२ करोड रुपैयाँ खर्च लाग्ने जानकारी दिए ।
उड्डयन प्राधिकरणले ११ करोड ९० लाख रुपैयाँ लगानीमा नलिञ्चोक हेलिपोर्ट साढे दुई वर्षको अवधिमा निर्माण सकेको हो । हेलिपोर्टले ३३ रोपनी क्षेत्रफल ओगटेको छ । तत्कालिन हवाई विभागको नाममा रहेको उक्त जग्गा विभाग खारेज भएर प्राधिकरण स्थापना भएपछि प्राधिकरणको नाममा आएको थियो ।
हेलिपोर्टमा साना आकारका १७ वटासम्म हेलिकप्टर पार्किङ गर्न मिल्छ । जसमा चार हेलिकप्टर एकैपटक उडान र अवतरण गर्न सक्ने क्षमता छ । प्राधिकरणका अनुसार हेलिकप्टर सेवा प्रदायक कम्पनीका कम्तीमा एउटा हेलिकप्टर नलिञ्चोकमा राख्ने नीति लिइएको छ । नलिञ्चोक हेलिपोर्टको सुरक्षा नेपाल प्रहरी र नेपाली सेनाको जिम्मामा छ ।
हेलिपोर्टलाई आवश्यक ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी)को काम भने त्रिभुवन विमानस्थल टावरबाट हुने गरेको छ । नलिञ्चोक हेलिपोर्टमा उडान–अवतरण र पार्किङ शुल्क भने त्रिभुवन विमानस्थल सरह नै तोकिएको छ ।
यहीबीच प्राधिकरणले नलिञ्चोक हेलिपोर्टमा विद्यमान् उडान सुरक्षा जोखिम सम्बन्धी अध्ययन गरेर चाँडै प्रतिवेदन बुझाउन उडान सुरक्षा विभागका उपनिर्देशक प्रभाकर मल्लिकको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरेको छ । समितिमा हेलिकप्टर पाइलटहरूलाई पनि राखिएको छ । समितिले हेलिपोर्ट निर्माण गर्नुअघि लिइएको सुरक्षा मूल्यांकन र अबको निकासबारे अध्ययन गर्ने बताईएको छ ।
नेपालमा हाल एक दर्जन हेलिकप्टर सेवा प्रदायक कम्पनीको करिव ४० वटा हेलिकप्टर सञ्चालन भइरहेको छ । हाल एयर डाइनेस्टी हेली सर्भिस, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकप्टर, फिसटेल एयर, हेली एभरेस्ट, कैलाश हेलिकप्टर सर्भिसेस, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुस्ताङ हेलिकप्टर, प्रभु हेलिकप्टर्स, श्री एयरलाइन्स र सिम्रिक एयरले चार्टर उडान गरिरहेका छन् ।