राजनीतिक प्रतिष्पर्धाकाबीच विकास निर्माणमा एक ठाउँमा उभिने सांसदहरुको प्रतिवद्धता

भक्तपुर, असार २६
भक्तपुरका प्रतिनिधि सभा सदस्यद्धय दुर्लभ थापा र सन्तोष परियार एवम् बागमती प्रदेश सभा सदस्य किरण थापाले राजनीतिक प्रतिष्पर्धा भएपनि भक्तपुरको विकासमा सधै एक ठाउँमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
भक्तपुरको सूर्यविनायकमा बुधवार आयोजित नेपाल प्रेस सोसाईटीको शुभारम्भ र सम्मान कार्यक्रममा संघीय सांसद थापा र परियार एवम् प्रदेश सभा सदस्य थापाले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा संघीय सांसद दुर्लभ थापाले भक्तपुरको विकास निर्माणका विषयमा अर्का संघीय सांसद प्रेम सुवालसँग पटक पटक छलफलको प्रयास गरेपनि अहिलेसम्म सँगै बस्ने समय जुर्न नसकेको बताउँदैं भक्तपुरबाट बागमती प्रदेशमा १० जना र संघीय संसदमा प्रतिनिधित्व गर्ने चार जना सांसदहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।


उहाँले अरनिको राजमार्गको जडिबुटीदेखी राधेराधेसम्म सडकमा झिलिमिलि बत्ति बल्ने तर राधेराधेदेखी सूर्यविनायकसम्म अन्धकार हुनुलाई राधेराधे पश्चिम दक्षिण कोरिया र पूर्वतर्फ उत्तर कोरिया जस्तो भएको टिप्पणी गर्नुभयो ।
सांसद सन्तोष परियारले भक्तपुरको विकासका बारेमा संघीय र प्रदेश सांसदहरुको हैसियतले आफुहरुमा कुनै मतभेद नभएको बताउँदैं पटक पटक छलफल र सहकार्य भएको जानकारी दिनुभयो ।
उहाँले पत्रकारिता क्षेत्र अत्यन्त गहन र जिम्मेवार क्षेत्र भएको बताउँदैं भक्तपुरका विविध विषयमा पत्रकार, सञ्चारमाध्यम र सञ्चारसँग सम्बन्धीत नेपाल प्रेस सोसाईटी जस्ता संघ संस्थाहरुले पनि बहश चलाउनुपर्ने सुझाव दिनुभयो ।
बागमती प्रदेश सभा सदस्य किरण थापाले भक्तपुरलाई स्वास्थ्य र धार्मिक पर्यटनको हब बनाउन सकिने बताउँदैं त्यसका लागि सबै जनप्रतिनिधिहरुले एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।


नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले सोसाईटीले भक्तपुरको पत्रकारिताको विकास र पत्रकारहरुका क्षमता अभिबृद्धि एवम् वृत्ति विकासका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले पत्रकार महासंघ पत्रकारिताको सवालमा सोसाईटीसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सोसाईटीका अध्यक्ष उपेन्द्रराज केसीले सोसाईटीले कुनै पनि राजनैतिक विचार र आस्थाका आधारमा भेदभाव नगरी समग्र भक्तपुरको विकास, ऐजेण्डालाई स्थान दिई बहश, छलफल निरन्तर सञ्चालन गर्ने र कसैलाई प्रेसमार्फत कुनै सूचना वा जानकारी उपलब्ध गराउन परे स्थान उपलब्ध गराउने जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल प्रेस सोसाईटीले एसईई २०८० मा ४ जिपीए अंक ल्याउने भक्तपुरका ६ जना विद्यार्थी र विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो ।