हनुमन्ते सफाईले टर्यो संकट

भक्तपुर, असार २३
दुई साता अघिसम्म हनुमन्ते खोलामा माटोको ढिस्को र फाहोरको थुप्रो थियो । खोलामा पानीको बहाव साँघुरो थियो । यसवर्ष अत्याधिक वर्षा हुने प्रक्षेपण गरिएपनि मनसुन सक्रिय नहुँदा पर्याप्त वर्षा हुन सकेको थिएन र हनुमन्तेमा पानीको बहाव पनि बढेको थिएन ।
यद्यपी मनसुन सक्रिय भई भारी वर्षा हुने र बाढी पहिरोको जोखिम उच्च हुने प्रक्षेपणपछि मध्यपुर थिमि नगरपालिकाको पहलमा सूर्यविनायक नगरपालिकाको समेत लागत साझेदारीमा हनुमन्तेमा डोजर चलाउन शुरु भयो । करिव एक साता लगातार हनुमन्ते खोलामा डोजर चलाई माटोको ढिस्को र फोहोरका थुप्रो हटायो ।


त्यही कारण शुक्रवार रातीदेखी परेको अविरल वर्षाले शनिवार हनुमन्ते खोलामा ठूलो बाढी आएपनि यसवर्ष राधेराधेदेखी चारदोवाटोसम्मको क्षेत्रमा डुवान हुन पाएन । लगातारको वर्षाले हनुमन्तेमा पानीको सहत बढ्यो तर बस्तीमा पस्न भने पाएन ।
बाढीले पानीको सतह बढेर भक्तपुरको राममन्दिरदेखी तल्लो क्षेत्र डुवानमा परेपनि राधेराधेदेखी तल्लो क्षेत्र डुवानमा नपर्नु खोला सफाई प्रमुख कारण भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
अविरल वर्षाले हनुमन्ते खोलामा पानीको सतह बढेपछि राधेराधेदेखी तल्लो तटिय क्षेत्र मध्यपुर अस्पताल, शंखधरचोक, चारदोवाटो, कौशलटार, लोहकिल्थली राममन्दिर हुँदैं हनुमन्ते र मनोहरा खोलााको दोभानसम्मको स्थलगत अवलोकन गर्नुभएका श्रेष्ठले खोला सफाई गरेकै कारण ठूलो धनजनको क्षती हुनबाट जोगिएको बताउनुभयो ।


उहाँले चारदोवाटोको हनुमन्ते पुलदेखी तल्लो क्षेत्र कौशलटारको हनुमन्ते पुलहुँदैं लोहकिल्थलीको राममन्दिरसम्मको केही स्थानमा खेत डुवानमा परेको जानकारी दिँदैं ती स्थानमा पनि खोला सफाई आवश्यक भएको बताउनुभयो ।
हनुमन्तेको बाढीले डुवानको जोखिम बढेपछि मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाको लागत साझेदारीमा राधेरोधदेखी शंखधरचोकको हनुमन्ते पुलसम्म मध्यपुर थिमिले र शंखधरचोकको हनुमन्ते पुलदेखी बालकोटको रोज भिलेजसम्म सूर्यविनायक नगरपालिकाले खोलामा डोजर चलाई माटोको ढिस्को, फोहोरको थुप्रो सफाई गरेको थियो ।