भक्तपुर, असार २२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिवार मृत भेटिएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक काठमाडौँ दरबन्दी भई हाल ओली निवास बालकोटस्थितमा सुरक्षा प्रमुखको रूपमा कार्यरत थापा सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थितमा आफ्नै निवासमा मृत भेटिएको हो ।
शुक्रवार साँझ डियुटी सकेर गुण्डुस्थित घर गएका थापा बेलुका खाना खाएर सुतेका थिए । शनिवार बिहान अचेत अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । चिकित्सकले थापालाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
घटनास्थलमा पुगेको प्रहरी वृत्त जगातीका अधिकृतसहित टोलीले अनुसन्धान सुरु गरेको जानकारी दिँदै उहाँले मृतक थापाको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाएको बताउनुभयो ।
के–कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको भन्दै उहाँले शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान अघि बढाइने जानकारी दिनुभयो ।