अविरल वर्षाले मनोहरा र हनुमन्तेमा आएको बाढीले विभिन्न स्थानमा डुवानमा

भक्तपुर, असार २२
भक्तपुरमा अविरल वर्षाका कारण हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले नदि तटीय क्षेत्र डुवानमा पर्नुका साथै केही स्थानमा पहिरोको जोखिम बढेको छ ।
शुक्रवार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको हनुमानघाट राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । मध्यपुरथिमि क्षेत्रको राधेराधे, सिवर्ड कलेज, चारदोवाटो, बालकोट, हनुमन्ते गोदावरी दोभान क्षेत्र डुवानको उच्च जोखिममा रहेको छ ।


यसैगरी मनोहरा खोलामा आएको बाढीले चाँगुनारायण नगरपालिका १ सशस्त्र प्हरी बलको गुह्येश्वरी गण नजिकको राई टोलमा कटान शुरु गरेको छ । राई टोलमा २०÷२५ घर रहेकोमा मनोहरा खोलाको बहाब बढ्दा खोला र बस्तीको करिब १०÷१५ मिटर मात्र दुरि भएकाले हाल ४ वटा घरहरु जोखिममा रहेका छन् । जोखिममा परेका घरहरु रोजिना राई, भुपेन्द्र राई, निर्मला कुमारी राई र पुर्ण राईको रहेको प्रहरीले जनाएको छ ।
मनोहरा खोलाको बाढीले मध्यपुर थिमि नगरपालिका–१ स्थित सुकुम्बासी बस्तीमा बाढी पस्ने उच्च जोखिममा परेको छ ।
वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले शनिवार बिहानै नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।


भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च सतर्कतासहित तयारी अवस्थामा राखेको बताउनुभयो ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिमार्फत सुरक्षा तहदेखि स्थानीयस्तरसम्म खोज तथा उद्धार टोली, आवश्यक राहत सामग्री तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।