सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक वर्षको प्रमुख ५ उद्देश्य सार्वजनिक

भक्तपुर, असार २२
सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक २०८१÷०८२ को नीति तथा कार्यक्रममा प्रमुख ५ उद्देश्य अघि सारेको छ । नगरपालिकाले शुक्रवार १६ औं नगर सभाको पारित नीति तथा कार्यक्रम र निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाका अनुसार नीति तथा कार्यक्रममा शहरी पूर्वाधारको बिस्तार एवम् गुणस्तर प्रवद्र्धन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच र गुणस्तर सुनिश्चित गर्ने, गुणस्तरिय विद्यालयको शिक्षाको सुनिश्चितता र सीपमूलक प्राविधिक शिक्षाको विकासको गर्नु, उत्पादन उत्पादनकत्व र रोजगारी सृजना गर्ने, भरपर्दो र सुरक्षित सूचना प्रणालीको विकास, बिस्तार र उपयोग गर्ने उद्देश्य रहेको छ ।
यसैगरी नीति तथा कार्यक्रम र बजेटमा उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जना, सूचना प्रविधिमा व्यापक बिस्तार गरी संस्थागत सुशासन प्रवद्र्धन गर्ने, पर्यटन प्रवद्र्धन, शहरी पूर्वाधार विकास लगायतका प्राथमिकता र रुपान्तकारी परिवर्तनको क्षेत्र निर्धारण गरेको छ ।


सूर्यविनायकले ‘मेयरसंग जनता स्वास्थ्य कार्यक्रम’ मार्फत सबै नागरिकलाई स्वास्थ्य सेवामा सरल र सहज पहुँच पुर्याउने उद्देश्य लिएको छ । यस अन्तर्गत प्रत्येक वडामा महिनाको कम्तिमा एक दिन चिकित्सक सहितको स्वास्थ्य टोलीले ‘मोबाइल क्लिनिक सेवा’ प्रदान गरिने नगरप्रमुख बासुदेव थापाले जानकारी दिनुभयो ।
यसले टेलीमेडिसिनलाई प्रोत्साहन गर्ने र नागरिकको रोग स्क्रिनिंग, उपचार एवं परामर्श सेवा प्रभावाकरी पार्न मद्दत मिल्ने नगरपालिकाले बिश्वास व्यक्त गरेको छ ।
नगर प्रमुख थापाले सात बर्षसम्म सबै वैठक सर्वसम्मत भएको दाबी गरेका छन् । २०७३ सालमा नगरपालिकाको स्थापना भएदेखि ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत भएको प्रमुख थापाले बताउनुभयो ।
“नगरपालिका स्थापना भएदेखि १६ वटा अधिवेशन र १७० वटा वैठक भएका छन ती सबै सर्वसम्मतिमा सम्पन्न भएको छ,” नगरप्रमुख थापाले भन्नुभयो । उहाँले फरक विचारधाराका पार्टीबाट निर्वाचित भएर आए पनि नगरपालिकामा आएपछि पार्टीका कार्यकर्ता नभइ जनप्रतिनिधिका रूपमा काम गर्दै आएको बताउनुभयो ।