आस्था महिला विद्यालयमा २ सय ४० जनाको निःशुल्क स्वास्थ्य जाँच

भक्तपुर, असार २२
भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयको आयोजनामा शुक्रवार सम्पन्न बृहत स्वास्थ्य शिविरमा २ सय ४० जनाको स्वास्थ्य जाँच गरिएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा ३८ जनाले रक्तदान समेत गरेका छन् ।
विद्यालयको १६ औं स्थापना दिवसको अवसरमा आयोजित उक्त स्वास्थ्य शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर, स्त्री रोग, आँखा, मधुमेहको परीक्षण गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् समाजसेवी अभियन्ता नरेश रञ्जितले जानकारी दिनुभयो ।
शिविरमा नागरिक कम्युनिटी टिचिंग अस्पताल गठ्ठाघरको प्राविधिक सहयोग गरेको थियो भने रक्तदानका लागि नेपाल रेडक्रस सोसाईटी बालकोट उपशाखा र जिल्ला शाखा भक्तपुरले प्राविधिक सहयोग गरेको थियो । शिविरमा राष्ट्रका लागि दुई घण्टा अभियान, लायन्स क्लब अफ भक्तपुर नागरिक र भक्तपुर निलकंठेश्वरको समेत सहकार्य रहेको थियो ।
स्वस्थ जीवनका लागि स्वास्थ्य परीक्षण अत्यावश्यक भएकोले विद्यालयले स्वास्थ्य शिविर संचालन गरेको विद्यालयकी प्रधानाध्यापक विना देउजाले बताउनुभयो । रक्तदान जीवनदान भएकोले यसलाई महत्व दिएर विद्यालयले रक्तदान कार्यक्रम पनि गरेको उहाँको भनाई छ ।


शिविर उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् मध्यपुर थिमि नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरि आचार्यले शिक्षा र स्वास्थ्यलाई स्थानीय सरकारले महत्वका साथ अघि बढाइरहेको बताउनुभयो । उहाँले आस्था महिला विद्यालयले शिक्षाको अवसरबाट बन्चित महिलालाई शिक्षाको अवसर जुटाइदिने गरेको बताउदै विद्यालयको भवन निर्माणको लागि जग्गाको खोजी भइरहेको र जग्गाको व्यवस्था भएको एक वर्षभित्र भवन निर्माणको थालनी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष बचन देउजा, विद्यालय पूर्व अध्यक्ष एवं सूर्यविनायक नगरपालिकाकी पूर्व उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमिकी पूर्व उपप्रमुख अञ्जना देवी मधिकर्मी, नागरिक अस्पतालका संचालक श्रीभक्त कासिछ्वा, राष्ट्रका लागि दुई घण्टा अभियानका अध्यक्ष मधु ढुंगेल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति लगायतको आतिथ्यता रहेको थियो ।