‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरण शुरु

भक्तपुर, असार २२
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरण शुक्रवारदेखी शुरु भएको छ । गत वर्ष पहिलो चरण सञ्चालन गरिएको ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोस्रो चरण अन्तर्गत यसवर्ष करिव ३ हजार ५ सय एभोकाडोको बिरुवा निःशुल्क वितरण गरिने जनाएको छ ।
यसवर्ष चाँगुनारायण नगरपालिका –७ मझुवामा एभोकाडोको बिरुवा वितरण र रोपण गरेसंगै दोश्रो चरणको अभियान शुभारम्भ भएको अभियानका संयोजक नरेश खड्काले जानकारी दिनुभयो । अभियानका परिकल्पनाकार एवं चाँगुनारायण क्षेत्रका बौद्धिक नेता डिपी ढकालले चाँगुनारायण–७ का वडाध्यक्ष श्यामकाजी नायजू र ज्येष्ठ नागरिक भिमसेन थापालाई एभोकाड़ोको विरुवा हस्तान्तरण गर्दै अभियानको दोश्रो वर्षको कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका हुन् ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका ढकालले पर्यावरण, स्वास्थ्य, उत्पादन र आयआर्जनको दृष्टिले बहुगुणी फल एभोकाडोले चाँगुनारायणको मुहार बदल्ने विश्वास व्यक्त गर्दै अभियानले सामूहिक एकता पनि प्रदर्शन गर्न सफल भएको बताउनुभयो । अभियानमा सयौं अभियन्ता स्वतःस्फूर्त जोडिएका र हजारौ परिवार सामेल भएको उल्लेख गर्दै उहाँले गत वर्ष झैं यो वर्ष पनि अभियान उत्सवकै रुपमा सम्पन्न हुने बताउनुभयो ।


सो अवसरमा वडाध्यक्ष श्यामकाजी नायजूले अभियानप्रति ऐक्यवद्धता प्रकट गर्दै एभोकाड़ोको बिरुवालाई रोप्ने मात्र नभई हेरविचार गर्न र फलाउनपर्नेमा जोड दिनुभयो । अभियन्ताहरुले दुःखगरी श्रोत व्यवस्थापन गरेको भन्दै उहाँले सित्तैमा पाएको भनेर बिरुवाको बेवास्ता नगर्न आग्रह गर्नुभयो ।
अभियान अन्तर्गत वडा नम्बर ७ मा ५ सय ओटा एभोकाड़ोका बिरुवा वितरण र रोपण गरिएको अभियन्ता दिनेश खनालले जानकारी दिनुभयो । चाँगुनारायण एकता तथा बिकास समाजको सहकार्यमा विरुवा वितरण र रोपण कार्यक्रम सम्पन्न भएको अभियन्ता लक्ष्मण दुलालले बताउनुभयो ।
स्थानीय एवं भंगेरी डाँडा तामाङ्ग बस्ती सामुदायिक होम स्टेकी अध्यक्ष विष्णुमाया लामाले अभियानले सामूहिक भावनाको विकास गर्न मद्धत गरेको प्रतिक्रिया दिनुभयो । स्थानीय राजन लामिछानेले एभोकाड़ो रोप्न, फलाउन र चाँगुनारायणलाई एभोकाडोको शहर बनाउन आफूहरु उत्साहित रहेको बताउनुभयो ।
सो अवसरमा स्थानीय अभियन्ता हरिशरण लामिछाने, गणेश थापा लगायतले कार्यक्रमको व्यवस्थापन गरेका थिए भने विश्वप्रकाश पोखरेल, लालकिरण गौतम, मदन श्रेष्ठ, मदन ढुंगाना, सुनिल नेम्हाफुकी, सोनिया ठकुरी, अमृता संजेल, धर्म थिङ्ग, राजेश नेपाल, हरिशरण तिमल्सिना, प्रयास लामा, कान्छा लामा लगायतको सहभागितामा २ सय बढी घर परिवारमा एभोकाडोको बिरुवा वितरण गरिएको थियो ।


३ वर्षभित्र चाँगुनारायणका १७ हजार घरमा कम्तिमा २ बोट एभोकाड़ो रोप्ने र फलाउने उदेश्य राखिएको चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान गत वर्ष देखि शुरु भएको हो । ३१ असार २०८० बाट शुरु भएको अभियानले गत वर्ष चाँगुनारायणको सबै वडामा गरी ७ हजार बढी बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको अभियानका प्रवक्ता संजीप घिमिरे शुभचिन्तकले बताउनुभयो । यो वर्ष पनि गत वर्षकै हाराहारीमा विरुवा वितरण र रोपण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत शनिवार चाँगुनारायण नगरपालिका– २ दुवाकोटमा हुने तय भएको छ । त्यसैगरी असार २४ गते चाँगुनारायण– १ चाँगु स्कुल चौर, २६ गते चाँगुनारायण–४ न्याचोपौवा, २८ गते चाँगुनारायण– ३ झौखेल र २९ गते चाँगुनारायण–८ सुडालमा एभोकाडोको बिरुवा वितरण रोपण हुने शुभचिन्तकले बताउनुभयो ।