बृहत र विशेष योजनासहित नयाँ पहिचान स्थापित गर्दै मध्यपुर थिमि नगरपालिका

भक्तपुर, असार २१
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिका बृहत र विशेष योजनासहित नयाँ पहिचान स्थापित गर्दै अघि बढेको बताउनुभएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले शुक्रबार आयोजित ‘नगरपालिकाको विकास–निर्माण र सेवा प्रवाहसम्बन्धी अन्तर संवाद’ कार्यक्रममा नगरप्रमुख श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्द्धन गर्न विशेष जोड दिएको बताउँदैं मध्यपुर थिमिलाई पर्यटकिय क्षेत्रको रुपमा स्थापित गर्ने योजनाका साथ अघि बढेको बताउनुभएको हो ।
विगतमा नगरपालिकामा ऐन कानून निर्माण नभएको र तजविजी अधिकारको भरमा सञ्चालन भइरहेको पाईएको बताउँदैं उहाँले नगरपालिकालाई पारदर्शी ढंगले सुशासन कायम गर्न पनि नीति, नियम निर्माणमा जोड दिईएको बताउनुभयो ।
“हाम्रो दुई बर्षे कार्यकालमा पहिलो वर्ष नीति, नियम बनाउन लागेको र त्यही नीति, नियमको आधारमा अहिले नगरवासी लाभान्वित भइरहेका छन् । पहिले सिद्धान्त प्रतिपादन गरेका कारण आज विकास निर्माणका कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ,” उहाँले भन्नुभयो ।


प्रमुख श्रेष्ठले नगरको शिक्षा क्षेत्रको चर्चा गर्दै भन्नुभयो, “हामी निर्वाचित भइसकेपछि शिक्षामा संस्थागत र सामुदायिक विद्यालयमा व्यापक अन्तर (बेमेल) थियो, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार्नु थियो भने संस्थागत विद्यालयमा जथाभावी शुल्क निर्धारणसम्बन्धी व्यापक गुनासो थियो । त्यसलाई हामीले व्यवहारिक उपायका माध्यमबाट सहजीकरण ग¥यौं । र, यो हाम्रो महत्वपूर्ण उपलब्धि हो ।”
प्रमुख श्रेष्ठले जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिका साथै सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान गरेपछि अहिले मध्यपुर थिमिमा शिक्षाको गुणस्तर बृद्धि भएको जानकारी दिँदैं भन्नुभयो, “सामुदायिक विद्यालयमा पिउने पानीको राम्रो प्रवन्ध थिएन, हामीले बजेट छुट्याएर खानेपानीको गुणस्तर सुधा¥यौं र टेण्डर आह्वान गरेर प्रत्येक सामुदायिक स्कुलमा दिनको दुई पटक शौचालय सरसफाइ गर्ने प्रवन्ध गरेका छौं । त्यसका अतिरिक्त विद्यार्थीको पोषण शिक्षालाई ध्यानमा राख्दै जनही विद्यार्थी तीस रुपैयाँका दरले दिवा खाजाको व्यवस्था गरेका छौं । इसिडीका लागि १५ जना शिक्षक नियुक्तिका साथै नगरभित्र पाँचवटा बालविकास केन्द्र खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रमुख श्रेष्ठले नगरको पूर्वाधार विकासको चर्चा गर्दै भन्नुभयो, “नगरपालिकाको केन्द्रीय प्रशासनिक भवन आउँदो दशैंसम्म शिलान्यास गर्ने योजना छ । यस्तै नेपाल–कोरिया मैत्री अस्पतालको विस्तारित भवनको पनि शिलान्यास गर्ने योजना छ । यस्तै थिमिको मुख्यचोकदेखि नीलबाराहीसम्म दैनिक सरसफाइ, नयाँँ थिमिबाट पुरानो थिमिमा प्रवेश गर्दा मध्यपुर थिमिको प्राचीन पहिचान स्वरूप दायाँबायाँ बनेका निजी वा गुठी घरमा पुरातात्विक शैली झल्किने गरी परिवर्तन गरिने छ । थिमिको लायकु (दरवार)मा रहेको विद्यालयलाई स्थानान्तरण गरेर पुरानो स्वरूपमा लायकु दरवारलाई पुनःस्थापित गर्नेछौं ।”


उहाँले सम्पदा क्षेत्रको संरक्षणात्मक कार्यको विशेष उल्लेख गर्दै भन्नुभयो, “आजकल मध्यपुर थिमि एक आधुनिक र परम्परागत रूपमा स्थापित भएको नगर बन्दै गएको छ । यसलाई दृष्टिगत गरी आफ्नो परम्परागत पहिचानलाई बचाउन पोटरी स्क्वायर, सेरामिक्स हबका साथै माटाका भाँडाकुँडाको एक जीवन्त संग्रहालय बनाउने योजना छ । काठमाण्डौं उपत्यकाको आस्था र श्रद्धाको स्थलको रूपमा रहेको नीलबाराही मन्दिरको करिब २४ करोड रुपैयाँँको लागतमा संरक्षण गर्ने योजना रहेको छ ।”
उहाँले नगर सौन्दर्ययीकरण योजनाअन्तर्गत राधेराधेदेखि मनोहरा खोलासम्म १ करोडको लागतमा फराकिलो पेटी र सार्वजनिक शौचालय निर्माणलगायत खाली जग्गामा स–साना विश्रामस्थल बनाउने योजना रहेको बताउनुभयो ।
प्रमुख श्रेष्ठले नगरमा पर्यटन पूर्वाधारको विकासको प्रयत्नको चर्चा गर्दै भन्नुभयो, “थिमिमा रात्रिकालीन पर्यटन विकासका लागि सम्पदा क्षेत्रलगायत पर्यटकीय स्थलमा अत्याधुनिक सडक बत्तीको व्यवस्था गरिँदैछ । सडक बत्ती पुरानो थिमिदेखि एसओएससम्म विस्तार गरिने छ ।” उहाँले हाल नगरपालिकाले ६० देखि ७० वर्षका ज्येष्ठ उमेर समूह, अपांग, अशक्त, दलित र एकल महिला गरी २० हजार नागरिक स्वास्थ्य बीमाको लाभको दायरामा आएको जानकारी दिनुभयो ।


उहाँले नगरमा उपलब्ध स्वास्थ्य सुविधाको उल्लेख गर्दै भन्नुभयो, “नगरको नौवटै वडामा शहरी स्वास्थ्य क्लिनिक खोलिएको, अहिले त्यहाँँ स्वास्थ्य सुविधा लिनेहरूको लाम लागेकाले सेवा विस्तार गर्न पूर्वाधारहरूको बिस्तार गर्दै ज्येठ नागरिक, गर्भवती महिलाका लागि घरदैलोमै सुविधायुक्त अल्ट्रासाउन्ड र ल्याब टेस्ट सेवा उपलब्ध गराउने योजना रहेको छ । नेपाल कोरिया मैत्री नगर अस्पतालको भौतिक क्षमता अभिवृद्धि गर्दै २५ वटा शल्यक्रिया कक्ष विकास गरिने छ । त्यस अस्पतालमा आइसियु र थप शल्यक्रिया कक्षको विस्तार गरिने छ । यसको सार्थ लायन्स ब्लबको १ लाख अमेरिकन डलरको सहयोगमा अत्याधुनिक ब्लड बैंकको स्थापना गरिने छ । साथै अस्पतालको अपातकालीन वार्डमा माइनर अपरेसन कक्षको विकास गरिने छ ।”
नगर प्रमुख श्रेष्ठले स्वास्थ्य भौतिक पूर्वाधारको विकास र विस्तार गर्ने क्रममा थिमिमा संघीय सरकारबाट दुई सय शैयाको अस्पतालको स्वीकृति लिएर नगरभित्रै नर्सिङ शिक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाभित्र सञ्चालित कमरोटार, दिव्यश्वरी, मनोहरा जग्गा एकिकरण आयोजनालाई वैज्ञानिक र व्यवहारिक ढंगबाट सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो । प्रमुख श्रेष्ठले नगरमा निर्मित घरहरूलाई नियमित गर्ने कार्य सुरु गरिएको र यो अभियानअन्तर्गत दुईदेखि तीन हजार घरहरू नियमितको दायरामा आउने ल्याउने तयारी भइरहेको बताउँदैं नगरको सार्वजनिक जग्गाको संरक्षण गर्नेतर्फ महत्वपूर्ण उपलब्धी हासिल भएको चर्चा गर्नुभयो ।
मेयर श्रेष्ठले आगामी कात्तिक महिनामा थिमि महोत्सव आयोजन गर्नुका साथै दिव्यश्वरी र राधेराधेमा सडक खाना महोत्सव गर्ने विशेष योजना रहेको जानकारी दिँदैं नगर क्षेत्रभित्र खेलकुद, पुरानो नक्साको डिजिटाइजेसन, भ्रष्टचार न्यूनीकरण, कर सम्बन्धी गुनासो सुनुवाइ, आन्तरिक प्रशासनिक सुधार र सुशासनका लागि धेरै प्रयत्नहरूको थालनी गरेको चर्चा गर्नुभयो ।