लोकतन्त्रको स्थायित्व र राजनैतिक स्थिरताको लागि कांग्रेस एमाले समीकरण –सांसद थापा

भक्तपुर, असार १९
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण लोकतन्त्रको स्थायित्व र राजनैतिक स्थिरताको लागि भएको बताउनुभएको छ ।
पछिल्लो राजनैतिक घटनाक्रम र बदलिँदो सत्ता समीकरणको सन्दर्भमा बुधवार न्यूज अफ साप्ताहिक र ईन्यूज अफ डटकमसँग संक्षिप्त कुराकानी गर्दै सभापति थापाले साना दलले राजनैतिक च्याँखे थापेर सत्तालाई अस्थिर बनाएकाले कांग्रेस र एमाले सत्ता समीकरण बनाउन तयार भएको बताउनुभयो ।
उहाँले संविधानसभाबाट निर्माण गरिएको संविधान कार्यान्वयन गर्ने क्रममा संविधानमा नै केही कमी कमजोरी देखियो र त्यसलाई सच्याएर अघि बढ्न पनि कांग्रेस एमाले मिल्नुको विकल्प नभएकाले पनि अहिलेको परिस्थिती निर्माण बनेको बताउनुभयो ।
नयाँ सत्ता समीकरणमा अन्य मधेशवादी दल, राप्रपा, नेकपा एस र स्वयम् नेकपा माओवादी केन्द्र समेत समाहित भएर राष्ट्रिय सहमतिको सरकार गठन गर्न सहयोग गर्नुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, “सत्ताको अस्थिरताले मूख्यत सुशासन कमजोर बनेको र त्यसले गर्दा मुलुक आर्थिकरुपमा कमजोर बन्दै गएको, भ्रष्टाचार संस्थागत हुन थालेकोले कांग्रेस एमाले मिल्नुपर्ने आवश्यकता देखिएको हो ।”
उहाँले दुई प्रमुख दलबीच जुन समझदारी बनेको छ, त्यसलाई दुवै दलले पालना गरेर कार्यान्वयन गरे २०८४ को निर्वाचनपछि मुलुकमा स्थायित्व सहितको सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभामा सामनुपातिक हटाई त्यसलाई राष्ट्रियसभाको रुपमा विकास गर्ने, स्थानीय तहको संख्या घटाउने, वडालाई थप जिम्मेवार बनाउनेलगायतका व्यवस्था सँगै संसद विघटन गरी ताजा जनादेश प्राप्तीका लागि जनतामा जाने विषय प्रधानमन्त्रीको विशेषाधिकारको रुपमा स्थापित गर्न पनि संविधान संशोधन आवश्यक भएको उहाँले बताउनुभयो ।
निर्वाचन र राजनैतिकरुपमा दुवै दल कांग्रेस र एमाले प्रमुख प्रतिष्पर्धी भएपनि मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण, शान्ति स्थापनालगायत मूख्य राजनैतिक आन्दोलन र परिवर्तनका लागि विगतमा कांग्रेस र एमाले एक ठाउँमा उभिएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले कांग्रेसको नेतृत्वमा एमालेसहितको सरकार भएको बेला निर्माण भएको संविधानलाई कांग्रेस र एमाले मिलेरै समयानुकुल थप परिष्कृत गरी लैजान अहिलेको समीकरण बनेको बताउनुभयो ।