सूर्यविनायक नगरपालिकाको विकासमा मौलिक र आधुनिक शैलीको ‘फ्युजन’

भक्तपुर, असार १८
भक्तपुरको सूर्यविनायक नगरपालिकाले मौलिक र आधुनिक शैलीको ‘फ्युजन’ सहितको विकास निर्माणलाई प्राथमिकतामा राखेको उपप्रमुख सरिता तिमसिना भट्टराईले बताउनुभएको छ ।
राष्ट्रिय सञ्चार केन्द्रले मंगलवार आयोजित ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा उपप्रमुख भट्टराईले भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
“नगरपालिकाले पुराना राम्रा कुरालाई साथै लिइ नराम्रालाई छोड्दै, असल नयाँ पक्षलाई समेत समेट्दै, मौलिक र आधुनिक शैलीको ‘फ्युजन’ सहितको विकास निर्माणलाई प्राथमिकतामा राखेको छ,” उहाँले भन्नुभयो ।
‘स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने भिजन लिइ नगरपालिकाले दियो विकासका लागि २० वर्षे आवधिक योजना बनाएर अघि बढिरहेको जानकारी दिँदैं उहाँले नगरभित्रका ग्रामीण बस्तीका उत्पादन बजारीकरण गरि सर्वसाधारणको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले ग्रामीण सडकहरुको विकासका कार्यहरु थालिएको बताउनुभयो ।
सडकको विकासले पर्यटनमा समेत सहयोग पुग्ने विश्वास गर्दै उहाँले सूर्यविनायकमा हाल ११ मिटरका ४४ किलोमिटर बाटो रहेको र त्यसमध्ये २८ किलोमिटर कालोपत्रे भइसकेको र प्रायः सबै खोलामा पुलसमेत बनिसकेको बताउनुभयो ।
नगरपालिकाले आवस्यकता र मागअनुसार नै किास निर्माणका कार्यहरु गरिरहेको बताउँदै उहाँले सूर्यविनायक बाटोघाटोको विकासका लागि अन्य स्थानीय तहहरुका लागि उदाहरण बनेको दाबी गर्नुभयो ।
उहाँले नगरपालिकाले भौतिक पूर्वाधारसँगै स्वास्थ्य र शिक्षाको क्षेत्रमा समेत उल्लेख्य कार्य गरेको बताउनुभयो । नगरपालिकाभित्रका सबै विद्यालयहरुमा भौतिक पूर्वाधार पुर्याइसकेको बताउँदैं उहाँले विद्यालयहरुमा विद्यार्थीको संख्याहरु बढ्ने क्रममा रहेको जानकारी दिनुभयो । “यसपटकको एसईईको नतिजामा ८५ प्रतिशत उत्तीर्ण भएका छन् । जसमध्ये सामुदायिक विद्यालयको केही कम ५६ प्रतिशत छ र निजी विद्यालयमा ९५ प्रतिशत छ,” उहाँले भन्नुभयो ।


कार्यसम्पादनको मूल्यांकनका आधारमा विद्यालयको प्रधानाध्यापक नियुक्त गर्ने सूर्यविनायक नै पहिलो नगरपालिका रहेको बताउँदैं उहाँले उक्त कदमको अन्य स्थानीय तह साथसाथै प्रदेश र संघले समेत सराहना गरेको र केही स्थानीय तहले अनुकरणसमेत गरेको जानकारी दिनुभयो ।
‘उपप्रमुखसँग किशोर किशोरी कार्यक्रम’ लगायतका विभिन्न कार्यक्रममार्फत् कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई आवश्यक विभिन्न तालिमहरु दिइएको बताउँदैं उहाँले विद्यालयमा ‘सिक्दै कमाउँदै’ को अवधारणलाई समेत अगाडि बढाइएको जानकारी दिनुभयो ।
उहाँले स्वस्थ नगरवासीको अवधारणा अनुसार स्वास्थ्य विमाका लागि नगरपालिकाले एक घरधुरीको एक हजार रुपैयाँ तिरिदिने गरेका कारण हालसम्म ४ हजार ५ सय घरधुरी स्वास्थ्य बीमामा आवद्ध गराईसकेको जानकारी दिँदैं सूर्यविनायक नगरपालिकाका अस्पतालमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो ।
वडा नं. २ का वडाअध्यक्ष प्रदिप कार्कीले नगरपालिकाले एक वडा एक फल्चाको नीति लिएको र सो अनुसार प्रत्येक वडामा एउटा परम्परागत शैलीको फल्चा निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले सोही अनुरुप वडा नं. २ को गणेश मन्दिरमा फल्चा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
“गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा १३ लाख र १७ लाख रुपैयाँ गरि ३० लाख बजेटमा फल्चा निर्माण गरिएको हो,” उहाँले भन्नुभयो ।

सडक स्तरोन्नती अन्तर्गत कौशलटार–बालकोट–बिरुवा सडकको वडा नं. २ मा यसवर्ष २.२ किलोमिटर कालोपत्रे गरिएको जानकारी दिँदैं वडा नं. २ का वडाअध्यक्ष सानुकाजी कायस्थले चरखण्डी मन्दिरमा नगरपालिकाको नीति अनुसार फल्चा निर्माण गरिएको बताउनुभयो ।
पूर्वाधार विकास अन्तर्गत नगरपालिकाले विनियोजन गरेको १ करोड रुपैयाँमा ४९ लाख रुपैयाँ थप गरेर ४ नम्बर वडामा पानीट्याङ्कीदेखि गाम्चा निस्कने सडक कालोपत्रे गरिएको वडा नं. ४ का वडाध्यक्ष लच्छुराम न्यौपानेले जानकारी दिनुभयो । उहाँले वडाले ढल, खानेपानी र सडक पूर्वाधारलगायतका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
वडा नं. ७ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता रविन्द्र सापकोटाले संघीय सरकार र बागमती प्रदेश सरकारको अनुदानमा विगत २ वर्षदेखि केही कमी आएका कारण अपेक्षा अनुसारका विकास निर्माणका कार्य गर्न नसकिएको बताउनुभयो ।
नगरपालिकाको बजेटबाट वडा नं. ७ मा विभिन्न नयाँ सडक बनाइएका र बस्ती भित्र जाने सडक कालोपत्रे समेत गरिएको जानकारी दिँदैं उहाँले वडामा मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ‘रणबम बस्नेत पाटी’ निर्माण गरिएको र तामाङ बाहुल्यता भएको स्थानमा बुद्धको मूर्तिसमेत बनाउने योजना रहेको बताउनुभयो ।
सडक, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारको निर्माणसँगै नगरपालिकाले खानेपानीको पहुँच सबैमाझ पुर्याउनका लागि पनि कार्यहरु गरिरहेको सापकोटाले बताउनुभयो । दिगो विकासको योजना २०१५–२०३० अन्तर्गत नेपालले लिएको ९९ प्रतिशत मानिसहरुमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य पुरा गर्नका लागि नगरपालिकाले मेलम्ची खानेपानी आयोजनासँग २० लाख लिटर पानी लिनेगरि सम्झौता गरेको उहाँले बताउनुभयो ।