आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले योगदान दिनुपर्छ – प्रजिअ श्रेष्ठ

भक्तपुर, असार १५
भक्तपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रोशनी कुमारी श्रेष्ठले आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले आ– आफ्नै ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरले शुक्रवार आयोजित जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा प्रजिअ श्रेष्ठले नेपालको मौलिक र परम्परागत चिकित्सा पद्धती आयुर्वेदको प्रवद्र्धन गर्नुको सबैको दायित्व भएको बताउनुभएको हो ।
उहाँले सिमित स्रोत र साधनको बावजुद चिकित्सालयले गर्दै आएको काम सराहनीय रहेको भन्दै सेवाग्राहीको बढ्दो चापले आयुर्वेद प्रति जनताको विश्वास बृद्धि भएको पुष्टि हुने बताउनुभयो ।
उहाँले जिल्ला प्रशासन कार्यालयका सेवाग्राही मध्ये ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य जाँचका आयुर्वेद हेल्थ डेस्क सञ्चालनको लागि चिकित्सालयलाई आग्रह गर्नुभयो । उहाँले आयुर्वेदको प्रवद्र्धनका लागि विद्यालयको पाठ्यक्रममा आयुर्वेद शिक्षा समावेश जरूरी रहेको बताउनुभयो ।


कार्यक्रममा चिकित्सालयका प्रमुख डा. नदन कँडेलले स्वस्थ जीवन सम्बन्धी प्रस्तुती दिँदैं स्वस्थ रहन खानपानमा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले रोग लागेपछि उपचारमा लाग्नु भन्दा रोग नै लाग्न नदिन आयुर्वेदले अंगीकार गरेको जीवन पद्धती अलम्वन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आधुनिक जीवनशैलीले आम नागरिकको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको चर्चा गर्दै स्वस्थ जीवनका लागि शाकाहारी भोजन, योगाभ्यास, दैनिक व्यायाम, धुम्रपान र मद्यपान सेवन नगर्ने जस्ता बानीको विकास गर्नुपर्ने सुझाव दिनुभयो ।
“मानव स्वस्थ्य जीवनशैलीको विकल्प आयुर्वेद उपचार पद्धती हो भनेर विश्व स्वास्थ्य संगठनले पनि स्वीकार गरिसकेको अवस्थामा आयुर्वेद अनुसार मानसिक स्वास्थ्य र खानपानमा सुधार गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा चिकित्सालयका कविराज उत्तम ठकुरीले चालु आर्थिक बर्षको असार १४ गतेसम्ममा २४ हजार ७४ जना विरामीले ओपिडी सेवा लिएको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा यो सेवा लिनेको संख्या १९ हजार ८ सय ८० थियो ।
चिकित्सालयले ओपिडि सेवा बाहेक स्तनपायी आमा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसहित नसर्ने रोगको पहिचानका लागि स्क्रिनिङ, योग साधनालगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ । केन्द्रले चालु आर्थिक वर्षमा ३० हजार भन्दा बढी जनालाई त्यस्तो सेवा प्रदान गरेको जनाइएको छ ।
ठकुरीले नियमित सेवा अन्तर्गत बहिरंग सेवामा विशेषज्ञ आयुर्वेद चिकित्सकद्धारा बिरामी जाँच र परामर्श सेवा, पुर्वकर्म÷पञ्चकर्म सेवा अन्तर्गत हाडजोर्नी तथा नशा रोग, दम, पिनाश, टाउको दुखाई, माईग्रेन, अनिन्द्रा, तनाव, उच्चरक्तचाप लगायतका सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
त्यसैगरी प्याथोलोजी ल्यावमा रगत, दिसा, पिसाव, खकार, वीर्यको परीक्षण, स्तनपायी आमा कार्यक्रम अन्तर्गत ६ महिनाभित्रका सुत्केरी आमालाई दुग्धवर्धक औषधिका साथै आवश्यक परामर्श सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा अन्तर्गत ज्येष्ठ नागरिकहरुका लागि विशेष स्वास्थ्य सेवा प्याकेज प्रदान गर्दै आएको केन्द्रले जनाएको छ ।
केन्द्र बाहेक भक्तपुरमा तीन वटा आयुर्वेद औषधालय र तीन वटा नागरिक आरोग्य सेवा केन्द्रमार्फत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
उहाँले चिकित्सालयले २३ थरीका निशुल्क औषधी वितरण, लक्षित वर्गलाई विशेष सेवा, प्रचार प्रसार मूलक नियामक भूमिका अन्तर्गत रहेर काम गर्दै आइरहेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जिल्लाका सरकारी र पालिकाले सञ्चालन गरेका नगर अस्पतालसँग समन्वय गरेर आयुर्वेदको सेवा बिस्तार गर्नुपर्ने, औषधीको अभाव हुन नहुने, आयुर्वेद सेवाको प्रचार प्रसारमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा महासंघ भक्तपुरका सल्लाहकार रमेश गिरी, सचिव संजीप घिमिरे शुभचिन्तक, पत्रकारहरु सुरेश सैंजु, राजन कार्कीलगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।