सानो थिमिस्थित बाल सुधार गृहमा झडप

भक्तपुर, असार १४

भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहमा शुक्रवार साँझ झडप भएको छ । सुधार गृहमा रहेका बाल बिज्याईंकर्ताहरुलाई अन्यत्र स्थानान्तरण गरेको र अन्यत्रबाट त्यहाँ ल्याएको विषयमा विवाद हुँदा झडपको स्थिती बनेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सुधार गृहमा झडपको स्थिती बनेपछि भक्तपुर प्रहरी प्रमुख एसपी वेद बिष्टको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको छ । एसपी बिष्टका अनुसार सो सुधार गृहमा रहेका ११ जनालाई केही दिन अघि अन्यत्र स्थानान्तरण गरिएको र पोखराबाट एक टोली सानो थिमि ल्याएको विरोधमा सुधार गृहमा रहेकाहरुले विरोध गर्दै नाराबाजी गरेको हो ।
सुधार गृहमा रहेकाहरुले ढुंगामुढा समेत गरेको एसपी बिष्टले जानकारी दिनुभयो । अहिले प्रहरीले सुधार गृह बाहिर सुरक्षा प्रदान गरिरहेको छ ।
गत वर्ष भदौ ४ गते सो बाल सुधार गृहमा रहेका एक युवकको मृत्यु भएपछि झडप हुँदा सुधार गृहमा रहेका २ सय भन्दा बढी बाल बिज्याईकर्ताहरु सुधार गृहबाट फरार भएको थियो ।
बाल सुधार गृहमा १८ वर्ष भन्दा माथिका युवकहरु पनि रहने भएकाले बेला बेलामा झडपका घटना हुने गरेको छ ।
(एसपी बिष्टसँग सम्पर्क भएपछि सम्पादन गरिएको )