परम्परागत वाद्यवादनका मूल तथा जेष्ठ गुरुजनहरुलाई ललितपुर १६ वडाद्वारा सम्मान

सुनीता तुलाधर शिल्पकार । असार १४ गते, शुक्रवार ।
ललितपुर महानगरपालिका वडा नं १६ का परम्परागत वाद्यवादनका १५ जना मूल गुरुहरुलाई उहाँहरुले जीवनभर वाद्यवादनतर्फ पुर्याउनु भएको योगदानको कदरस्वरुप उक्त महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले एक कार्यक्रमका बीच कदरपत्र प्रदान गर्नुभई सम्मान गर्नुभएको छ ।


वडा नं १६ को आयोजन र सांस्कृतिक सम्पदा समितिको व्यवस्थापनमा हिजो विहिवार ललितपुरको मंगलबजारस्थित केशबनारायण चोकमा पानसमा बत्ती बाली कार्यक्रम शुभारम्भ गर्नुहुँदै उपमेयर शाक्यले आफ्नो जीवनकालभर अमूर्त सम्पदा वाद्यवादनको संरक्षण र प्रचारप्रसारमा लाग्नुभएका वाद्य गुरुहरुको कार्य अति नै सह्रानीय कार्य भएको बताउनुभयो । यसरी उत्कृष्ट कार्य गर्ने गुरुहरुलाई सम्मान गरेर १६ वडाले पनि अति राम्रो कामको शुरुवात गरेकोमा धन्यवाद दिनुहुँदै उहाँले मूर्त सम्पदा मात्र बनाएर अमूर्त सम्पदालाई संरक्षण गर्न नसकेमा त्यसको कुनै अर्थ नहुने भएकोले ललितपुर महानगरले मूर्त अमूर्त दुबैको संरक्षण र सम्बद्र्धनका साथै अमूर्त सम्पदा हस्तान्तरण कार्य पनि गरीरहेको बताउनुभयो ।


त्यस्तै उक्त वडाका वडाध्यक्ष निर्मल रत्न शाक्यले गुरुलाई सम्मानस्वरुप दोसल्ला ओढाउँदै उहाँहरुले लामो समयसम्म वाद्यवादन बजाउन, राग गाउन सिकाएर हाम्रो सम्पदालाई बचाएर पुस्तान्तरण गरी, हामीलाई प्रेरणा दिइरहनु भएकाले गुरु सम्मान कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।


वाद्यगुरुहरुलाई परम्परागत रुपमा सगुन तथा शीरमा बेताली पनि बाँधिदिएको उक्त सम्मान कार्यक्रममा व्यवस्थापक सांस्कृतिक सम्पदा समितिका संयोजक बिभुषण शाक्य, सदस्य रुबिन शाक्य लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
सो कार्यक्रममा वडा नं १६ का पदाधिकारीहरु, सांस्कृतिक सम्पदा समितिका पदाधिकारीहरु, गन्यमान्य महानुभावहरु लगायत संचारकर्मीहरुको उपस्थ्तिि रहेको थियो । कार्यक्रममा सम्यकआजिविका पुचःबाट चर्या नृत्य, सलिँछें पुचःबाट धिमेबाजाका साथ चर्यानृत्य र नागबहाल धाः बाजा खलःले धाः बाजाको पनि प्रस्तुति गरिएको थियो ।