महासंघका केन्द्रिय सदस्य साहलाई विशेषको सफाई

भक्तपुर, असार ११
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साहले विशेष अदालतबाट सफाई पाएको छ । सप्तरीबाट गोरखापत्रका समाचारदाता समेत रहनुभएका साहलाई सेनेटरी प्याड खरिद सम्बन्धी मुद्दामा सफाई मिलेको हो ।
सप्तरीको रुपनी गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८ मा सेनेटरी प्याड खरिद गर्दा अनियमितता भएको भन्दै गत माघमा अख्तियारले विशेष अदालतमा साहसमेतलाई मुद्दा दायर गरेका थिए ।
केन्द्रिय सदस्य साह प्रोप्राइटर रहेको लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सले खुल्ला टेण्डर प्रकृयाको माध्यमले गरेको सेनेटरी प्याड आपूर्तिलाई कर्मचारीसँग मिलेमतोमा अनियमितता गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले साहसहित तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी सुब्बा सुजन दाहाल, लेखाअधिकृत श्याम सुन्दर यादव, शिक्षा शाखा संयोजक श्यामप्रसाद यादवलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा विशेष अदालतले आज (मङ्गलबार) फैसला गर्दै सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकबहादुर कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायधीश मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले साहसहित पाँचै जनालाई सफाई दिएको हो ।