सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड

भक्तपुर, असार ११
आर्थिक वर्ष २०८१÷८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख बासुदेव थापाको अध्यक्षतामा सोमवार बसेको सोमबार नगरसभाको १६औं अधिवेशनको दोस्रो वैठकमा उपप्रमुख सरिता तिमसिना भट्टराईले सो बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले कुल बजेटको ४५.३४ प्रतिशत रकम अर्थात् १ अर्ब १ करोड ५६ लाख ५३ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरेको छ । त्यस्तै, १ अर्ब २२ करोड ४३ लाख ४६ हजार ५ सय रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ । उक्त रकम नगरपालिकाको कुल बजेटको ५४.६६ प्रतिशत हो ।


आगामी आर्थिक वर्षमा नगरपालिकाले संघिय सरकारको विभिन्न शिर्षकबाट ७२ करोड ३१ लाख ९९ हजार ५ सय रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै प्रदेशबाट विभिन्न शिर्षकमा ४८ करोड ७ लाख ३९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपप्रमुख तिमसिनाले बताउनुभयो । नगरपालिकाको आन्तरिक आय १ अर्ब ३ करोड ६० लाख ७ हजार ५ सय रुपैयाँ रहने अनुमान सहित २ अर्ब २४ करोडको बजेट ल्याइएको उहाँले बताउनुभयो ।
आगामी आर्थिक वर्षका लागि नगरले आर्थिक विकास तर्फ ११ करोड ८९ लाख रुपैयाँ, सामाजिक विकास तर्फ ८३ करोड ८४ लाख रुपैयाँ र पूर्वाधार विकासतर्फ ८७ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ११ करोड ५ लाख रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ३० करोड ४ लाख रुपैयाँ सहित कुल २ अर्ब २४ करोड खर्च हुने बजेटमार्फत अनुमान गरिएको छ ।