आगामी आर्थिक वर्षको लागि चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड

भक्तपुर, असार ११
चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको पन्धौं अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले सोमबार बजेट सार्वजनिक गरेको हो ।
नगरपालिकाले कुल बजेटको ५३.८१ प्रतिशत अर्थात् १ अर्ब १२ करोड १ लाख ८० हजार रुपैयाँ पूँजीगत खर्च शीर्षकमा विनियोजन गरेको छ । त्यस्तै, चालू खर्चका लागि ९६ करोड १७ लाख १३ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ । जुन नगरपालिकाको कुल विनियोजित बजेटको ४६.१९ प्रतिशत हो ।


आगामी आर्थिक वर्षमा नगरपालिकाले सिफारिस दस्तूर, व्यवसाय रजिष्ट्रेशन शूल्क, पानी ठेक्का, घर–नक्सा पास दस्तूर लगायतका शिर्षकबाट ३२ करोड ५५ लाख २० हजार रुपैयाँ बराबर आन्तरिक आय हुने अनुमान गरेको छ । संघिय सरकारको विभिन्न शिर्षकबाट ७६ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको नगरपालिकाको रहेको छ ।
त्यस्तै, प्रदेशबाट विभिन्न शिर्षकमा ७ करोड ७४ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपप्रमुख बुढाथोकीले बताउनुभयो । साथै, सवारी साधनको राजस्व बाँडफाँटबाट ८ करोड १३ लाख ३४ हजार रुपैयाँ र घर–जग्गा रजिष्ट्रेशनबाट ६० करोड रुपैयाँ गरी कूल जम्मा ६८ करोड १३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
हाल नगरपालिका संचित कोषमा मौज्दात रकम २१ करोड ४४ लाख ९२ हजार २ सय रुपैयाँ रहेको उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षका लागि नगरले आर्थिक विकास क्षेत्रतर्फ ११ करोड ५० लाख १५ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्र तर्फ ७३ करोड ५५ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, खानेपानी तथा सरसफाइ तर्फ १० करोड ९८ लाख १० हजार विनियोजन गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।
पूर्वाधार विकास क्षेत्र तर्फ ८८ करोड ८५ लाख ५० हजार मात्र विनियोजन गरिएको छ । जसमध्ये यातायात पूर्वाधार तर्फ ६६ करोड ११ लाख , भवन आवास तथा सहरी विकास तर्फ ७ करोड ४१ लाख , सम्पदा पूर्वाधार तर्फ ६ करोड ७५ लाख र उर्जा क्षेत्र तर्फ २ करोड ८८ लाख विनियोजन भएको छ ।