मध्यपुर थिमि नगरपालिकाको आ.व.२०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक

भक्तपुर, असार ११
मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको दशौं अधिवेशनमा उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, कमेरोटार जग्गा एकिकरण आयोजना र सिन्टिटार जग्गा एकिकरण आयोजना र सामाजिक सुरक्षा भत्तासहितको कुल ३ अर्ब २२ करोड ७० लाख ७५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक भएको बजेट अनुसार नगरपालिका सञ्चालनतर्फ १ अर्ब ६९ करोड ९ लाख १३ हजार ५ सय विनियोजन गरिएको छ । जसमध्ये पुँजीगत खर्चका लागि ९८ करोड ३७ लाख ३५ हजार रुपैयाँ विनियोजन गरेको छ । जुन कुल बजेटको ५८.१८ प्रतिशत हो । त्यस्तै, आगामी आ.वमा चालू खर्चका लागि नगरपालिकाले कुल बजेटको ४१.८२ प्रतिशत अर्थात ७० करोड ७१ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट ६१ करोड ५३ लाख रुपैयाँ आम्दानी गरिने अनुमान गरेको छ । संघीय सरकारको राजस्व बाँडफाँडबाट ३५ करोड ८८ लाख रुपैयाँ र अन्तरसरकारी वित्त हस्तान्तरणमार्फत् ६० करोड १ लाख रुपैयाँ प्राप्त हुने नगरपालिकाको अनुमान छ । त्यस्तै, बागमती प्रदेश सरकारबाट प्राप्त हुने १० करोड ६६ लाख रुपैयाँ र लागत सहभागीता १ करोड सहित १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान गरेको छ ।
नगरपाकिकाले आगामी आर्थिक वर्ष नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका लागि ५३ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाका लागि ५७ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सिन्टिटार जग्गा एकीकरण आयोजनाका लागि २१ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लागि २२ करोड रुपैयाँ र सडक बोर्डको ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।