मध्यपुर थिमि नगरपालिकाले स्थानीय पेयपदार्थको प्रवद्र्धन गर्ने (नीति तथा कार्यक्रमको पूर्ण पाठसहित)

भक्तपुर, असार १०
मध्यपुर थिमि नगरपालिकाले स्थानीय उत्पादन खाद्य र पेयपदार्थको प्रवद्र्धन गर्ने नीति लिने भएको छ । मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सो जानकारी दिनुभएको हो ।
उहाँले १० वटा प्राथमिकताका क्षेत्र निर्धारण गरी नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रमम तयार गरिएको बताउनुभयो । उहाँले सुशासन तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र खेलकुद, सामाजिक समावेशीकरण, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य, सहकारी तथा रोजगारी प्रवद्र्धन, वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन, कला, संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र सूचना प्रविधिलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।


उहाँले नगरपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित, नतिजामूलक र प्रभावकारी बनाउनको लागि मध्यपुर थिमि नगरपालिका वडा नं. ५ स्थित जलाखुमा नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य चालु आर्थिक वर्षमा नै शुरु गरिने बताउनुभयो ।
नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्दै लगिने, मौलिक स्थान–नाम अभिलेखीकरण तथा पुनःस्थापना अभियानलाई तिब्रताका साथ निरन्तरता दिईने, नगरपालिकाबाट भवन निर्माण रोक्का राखिएका क्षेत्रहरुको सम्बन्धमा व्यवस्थित वस्ती विकासको सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा चालु आ.व. बाटै शुरुवात गरी क्रमश वस्ती विकास गर्दै लाने नीति लिईने नगरप्रमुख श्रेष्ठले जानकारी गराउनुभयो ।


उहाँले नगरपालिकाले आगामी वर्ष नगरपालिका क्षेत्र भित्र मनाइने ऐतिहासिक, सांस्कृतिक एवं परम्परागत विस्काः जात्रा, जिब्रो छेड्ने जात्रा, निलबाराही गण नाच, भैरव नाच, महाकाली नाच, पुलुकिसि नाच लगायतका जात्रा चाड पर्वहरुलाई पर्यटन प्रवर्द्धनार्थ राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रचार प्रसार गरी थप व्यवस्थित गरिने नीति लिने बताउनुभयो ।
यसैगरी मध्यपुर थिमि नगरपालिका भित्रका सार्वजनिक स्थानहरुमा शुद्ध खानेपानीको व्यवस्था गर्ने, दुनेगः, विष्णुवीर, विष्णुकुण्डल, सिद्धिकाली, नगदेश, कुमारी पार्क, बोदे हुदैँ निलबाराही सम्म सम्पदा मार्गलाई विस्तार गरी पर्यटकीय गन्तव्य निर्माण गर्ने, मध्यपुर थिमि नगरपालिका भित्रका सार्वजनिक स्थान, पार्क लगायतको संरक्षण, उपयोग र सुरक्षा लगायतका सम्बन्धी कार्यहरु स्थानीय उपभोक्ता, संघ संस्था लगायतका निजी क्षेत्रको साझेदारीमा प्रचलित कानून बमोजिम सञ्चालन गर्ने नीति नगरपालिकाले लिने छ ।


सबै वडा कार्यालयहरुमा सुचना अधिकारी, हेल्प डेक्सको व्यवस्था गरिने, नगरवासीलाई राष्ट्रिय परिचयपत्र सहजरुपमा उपलब्ध गराउन नगरपालिकामै राष्ट्रिय परिचयपत्र स्टेशन स्थापना गरी तत्कालै कार्य प्रारम्भ गरिने भएको छ ।
दिगो श्रोत व्यवस्थापनको लागी कर तथा गैर राजस्व अनुपातमा कर राजस्वको अंशवृद्धि गर्दै आन्तरिक राजस्वलाई भरपर्दो र दीगो श्रोतको रूपमा स्थापित गरिने, करदातालाई कर तथा लेखाङ्कन प्रणालीका बारेमा ज्ञान अभिवृद्धि गर्न स्थानीय व्यवसायी, करदाता तथा व्यवसायी संघसंस्थाहरूसँगको सहकार्यमा ज्ञानबर्धक, जानकारीमूलक र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने, करको दायरा फराकिलो पार्न अभियानात्मक, प्रचारात्मक र उत्प्रेरणात्मक कार्यक्रमहरू सञ्चालन गरिने र बहाल करमा बहुदर प्रणाली लागु गरी आवासीय प्रयोजनका लागि बहालमा लगाई बहाल आम्दानी गरिरहेका घर धनीहरूलाई समेत व्यापक रूपमा करको दायरामा समेटिने छ।सम्पत्ति कर, भूमिकर, व्यवसाय कर र बहाल करमा निश्चित अवधिसम्म कर छुट तथा जरिवाना छुटको व्यवस्था गरी समयमै र नियमितरूपमा कर तिर्न करदातालाई प्रोत्साहित गरिने नीति नगरपालिकाले लिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
नीति तथा कार्यक्रमको पूर्णपाठ

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख,

प्रमुख प्रशासकीय अधिकृत,

नगर सभाका सदस्यहरु,

राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी मित्रहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरु,

यस नगरपालिकाको आ.व. २0८१।०८२ को नीति तथा कार्यक्रम सम्मानित नगर सभामा प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ।यस अवसरमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न तथा नागरिकलाई सार्वभौम एवं अधिकार सम्पन्न बनाउने अभियानमा जीवनको आहुति दिनु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु।नेपालको संविधानले परिकल्पना गरेको शासकीय संरचना र सेवा प्रवाहलाई जनताको घरदैलोसम्म पु-याउने नागरिकको नजिकको सरकार स्थानीय तह हो।

स्थानीय सरकारका रूपमा यो नीति तथा कार्यक्रम प्रस्तुत गरी रहँदा नेपालको संविधान २०७२ ले परिलक्षित गरेका निर्देशक सिद्धान्त तथा नीतिहरु, दिगो विकासका लक्ष्य २०३० ले निर्धारण गरेका क्षेत्रहरु, स्थानीय सरकार संचालन ऐन, २०७४, सार्वजनिक खरिद ऐन र खरिद नियमावली, आर्थिक प्रशासन नियमावलीले निर्दिष्ट गरेका व्यवस्थाहरु, प्रचलित कानूनहरु यस नगरपालिकाको दीर्घकालीन सोच, राष्ट्रिय योजना आयोगको वजेट तर्जुमा सम्वन्धी मार्गदर्शन र निर्देशन, नियमक निकायहरुबाट प्राप्त निर्देशनहरु समेतलाई आधार लिई तीन तहका सरकारका बीचको समन्वय, सहकार्य, सहअस्तित्व समेतलाई ध्यान दिइएको छ।

यस नगरपालिकालाई सांस्कृतिक जीवन्त शहरका रुपमा विकास गर्नको लागि केहि महत्वपूर्ण नीति तथा कार्यक्रमहरु यस सम्मानित नगर सभामा प्रस्तुत गरी रहँदा गौरवको अनुभूति गरी रहेको छु।

“हाम्रो कला, हाम्रो संस्कृतिः मध्यपुर थिमि, हाम्रो सम्पत्ति” भन्ने मूल नारालाई आत्मसाथ गरी समग्र नगरको विकासको सोच, लक्ष्य, उद्देश्य, अवसर र चुनौतीलाई प्रष्ट रूपमा निर्धारण गरी नगरपालिका अगाडि बढिरहेको छ।नगरको समस्या र चुनौतीका बीच जनप्रतिनिधिहरुको प्रतिबद्धता र साझा अठोट, राजनीतिक दलहरुबीच समन्वय, समझदारी र सहकार्य, राष्ट्रसेवक कर्मचारीहरुको लगनशीलता, इमान्दारिता, अनुशासन र सुशासन कायम गर्ने प्रतिबद्धता, निजी क्षेत्रको सहयोग, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुको विकास प्रक्रियामा सहभागिताले मात्रै सांस्कृतिक विविधतायुक्त यो सहरलाई जीवन्त र सुन्दर सहर बनाउन सम्भव छ।नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरू राष्ट्रियता, लोकतन्त्र, समाजवाद, सुशासन र जनस्वास्थ्यको प्रत्याभूति गरी आर्थिक विकासको सार्थकता प्राप्त गर्न क्रियाशिल रहेका छन्।गत आर्थिक वर्षमा तर्जुमा गरिएका नीति, कार्यक्रम तथा बजेटको मर्मको समिक्षा गर्दै सिमित साधन श्रोतलाई अधिकत्तम उपयोग गर्ने गरी जनप्रतिनिधीहरूसँग जनताका अपेक्षा एंव घोषणा पत्र मार्फत जनतासँग गरिएका प्रतिवद्धता समेतलाई ध्यानमा राखी जनताको प्राप्त अभिमतलाई सार्थक परिणाममा रुपान्तरण गर्न आगामी आ.व. २0८१।०८२ को बजेट तर्जुमा गर्दा देहायका क्षेत्रहरुलाई प्राथमिकतामा राखी कार्य अगाडी बढाइने छ।

आगामी आ.व. २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका आधार र प्राथमिकताहरु निम्नानुसार निर्धारण गरेको छु।

  1. संविधानले स्थानीय सरकारलाई तोकेका दायित्व तथा अधिकार, राज्यका नीति तथा सिद्धान्तहरु।
  2. सोह्रौं (पञ्चवर्षीय) योजनाले निर्धारण गरेको लक्ष्य, नीति तथा प्राथमिकताहरु।
  3. नेपाल सरकारको बजेट, योजना, नीति तथा कार्यक्रमहरु।
  4. बागमती प्रदेश सरकारको बजेट, योजना, नीति तथा कार्यक्रमहरु।
  5. स्थानीय सरकार सञ्चालन ऐन, २०७४
  6. निर्वाचनमा जनतासँग गरिएका घोषणा पत्र तथा प्रतिबद्धताहरु।
  7. विभिन्न विषयगत समिति, वडा समिति र सरोकारवाला समुहहरुबाट प्राप्त राय सुझाव।
  8. नेपाल सरकारले दीगो विकासका लक्ष्य, मानव अधिकार, बाल अधिकार, महिला अधिकार लगायतका अन्तरराष्ट्रिय स्तरमा जनाएका प्रतिबद्धता।
  9. नगरपालिकाले स्वीकृत गरेका ऐन, नियमावली, निर्देशिका, नीति तथा कार्यविधिहरु।

नीति तथा कार्यक्रमको प्राथमिकताका क्षेत्र :

  1. सुशासन तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह
  2. शिक्षा, स्वास्थ्य र खेलकुद
  3. सामाजिक समावेशीकरण
  4. कृषि तथा पशुपन्छी विकास
  5. उद्योग, वाणिज्य, सहकारी तथा रोजगारी प्रबर्द्धन
  6. वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन
  7. कला, संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धन
  8. पूर्वाधार विकास
  9. सूचना प्रविधि

उपस्थित नगरसभा सदस्यज्यूहरु,

अब म यस आर्थिक वर्ष २0८१।०८२ को लागि प्रस्तावित विषयगत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहान्छु।

मुख्य मुलभूत नीति तथा कार्यक्रमहरुः

  1. नगरपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित, नतिजामूलक र प्रभावकारी बनाउनको लागि मध्यपुर थिमि नगरपालिका वडा नं. ५ स्थित जलाखुमा नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य चालु आर्थिक वर्षमा नै शुरु गरिनेछ।
  2. नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्दै लगिनेछ।
  3. मौलिक स्थान-नाम अभिलेखीकरण तथा पुनःस्थापना अभियानलाई तिब्रताका साथ निरन्तरता दिईनेछ।
  4. नगरपालिकाबाट भवन निर्माण रोक्का राखिएका क्षेत्रहरुको सम्बन्धमा व्यवस्थित वस्ती विकासको सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा चालु आ.व. बाटै शुरुवात गरी क्रमश वस्ती विकास गर्दै लाने नीति लिईनेछ।
  5. सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, जिम्मेवार तथा नतिजामूलक बनाई सार्वजनिक सेवा प्रवाहलाई थप जनमैत्री एवं प्रभावकारी बनाइनेछ।
  6. नगरपालिकाको नीति तथा योजनाहरु कार्यान्वयन गर्न नगरवासीलाई सेवा प्रदान गर्न आवश्यकताका आधारमा नयाँ कानून तर्जुमा गर्नुका साथै मौजुदा कानूनलाई आवश्यकता र औचित्यका आधारमा संशोधन गरिनेछ।
  7. विद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउँदै लगिनेछ।
  8. गुणस्तरीय स्वास्थ्य सेवामा सम्पुर्ण नागरिकको पहुँच सुनिश्चित गर्दै लगिनेछ।यसका लागि स्वास्थ्य वीमा कार्यक्रम, निःशुल्क औषधी वितरण कार्यक्रम, Free Blood अभियानको निरन्तरता, स्वास्थ्य शिविर, जेष्ठ र अशक्त नागरिकको स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमहरु सँगै प्राकृतिक चिकित्सा सेवा समेतलाई घरदैलोमा सञ्चालन गरिनेछ।
  9. नगरपालिकाको एकीकृत, सन्तुलित, दीगो र योजनावद्ध विकासका लागि आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
  10. शहरी सौन्दर्यता र आम नागरिकको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी अव्यवस्थित तारलाई व्यवस्थापन गर्ने नीति लिइनेछ।
  11. दीगो विकासका लक्ष्य (SDG) हासिल गर्नका निम्ति सूचकहरुका आधारमा कार्ययोजना बनाई नगरपालिकाको नीति तथा कार्यक्रममा यसलाई आन्तरिकीकरण गरिनेछ।
  12. नगरवासीहरुलाई सहजता प्रदान गर्न करको दायरा विस्तार अभियानलाई निरन्तरता दिईनेछ।
  13. विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्नको लागि आवश्यक नीति अवलम्बन गरिनेछ।
  14. नगरपालिका भित्रका सार्वजनिक जग्गाको पहिचान, सिमाङ्कन र संरक्षण गरिनेछ।
  15. नगरपालिकाको प्राथमिकता प्राप्त योजना तथा कार्यक्रम सञ्चालन गर्न निजी क्षेत्र, गैरसरकारी संस्था र सामाजिक संघसंस्थाहरुसँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ।
  • सुशासनलाई संस्थागत गर्नको लागि भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ।
  • सूचना र प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रवाहलाई सहज बनाउन, जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्कमा रहने सार्वजनिक निकायहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गरिनेछ।
  • सार्वजनिक सेवा प्रवाहलाई अनलाईनको माध्यमद्वारा कार्यसम्पादन गरी Paper Less गर्ने नीति अवलम्बन गरिनेछ।
  • नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा दिवा खाजालाई व्यवस्थित गर्नको लागि केन्द्रीकृत भान्छा घर (Central Kitchen) सञ्चालनमा ल्याईनेछ।
  • मध्यपुर थिमि नगरपालिका क्षेत्र भित्र मनाइने ऐतिहासिक, सांस्कृतिक एवं परम्परागत विस्काः जात्रा, जिब्रो छेड्ने जात्रा, निलबाराही गण नाच, भैरव नाच, महाकाली नाच, पुलुकिसि नाच लगायतका जात्रा चाड पर्वहरुलाई पर्यटन प्रवर्द्धनार्थ राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रचार प्रसार गरी थप व्यवस्थित गरिनेछ।
  • ऐतिहासिक एवं परम्परागत जात्रा, चाडपर्व, पुजा, संस्कृतिलाई व्यवस्थित रुपमा सञ्चालन गर्न कार्यविधि निर्माण गरिनेछ।
  • नगर क्षेत्र भित्रका सम्पूर्ण टोल वस्तीहरुमा नियमित रुपमा फोहोरमैला संकलनको व्यवस्था मिलाई अरनिको राजमार्ग लगायतका अन्य सडकको दायाँबायाँ र विभिन्न पार्क एवँ सामुदायिक वन क्षेत्रहरुमा व्यवस्थित रुपमा वृक्षारोपण र वातावरण संरक्षण गरी हरियाली प्रवर्द्धन गर्दै सौदर्यकरण गरिनेछ।
  • मध्यपुर थिमि नगरपालिका भित्रका सार्वजनिक स्थानहरुमा आवश्यकताका आधारमा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने नीति लिईनेछ।
  • मध्यपुर थिमि नगरपालिका भित्रका सार्वजनिक स्थानहरुमा शुद्ध खानेपानीको व्यवस्था गर्ने नीति लिईनेछ।
  • पिछडिएको क्षेत्र, विपन्न समुदाय, दलित, महिला, आदिवासी जनजाति लगायत उत्पिडित वर्गहरुलाई राज्यको मूल प्रवाहमा समाहित गर्न समावेशीकरण, क्षमता विकास तथा सशक्तीकरणको नीति अवलम्बन गरिनेछ।
  • नगरपालिका र अन्तर्गतका कार्यालयहरुमा आवश्यक पर्ने सामाग्रीहरु सम्भव भए सम्म स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीहरुको प्रयोग गर्ने नीति लिईनेछ।
  • दुनेगः, विष्णुवीर, विष्णुकुण्डल, सिद्धिकाली, नगदेश, कुमारी पार्क, बोदे हुदैँ निलबाराही सम्म सम्पदा मार्गलाई विस्तार गरी पर्यटकीय गन्तव्य निर्माण गर्ने नीति लिईनेछ।
  • नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा संस्थागत क्षमता विकास गर्दै लगिनेछ।
  • नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सुविधा सम्पन्न भौतिक संरचना निर्माण तथा दक्ष जनशक्तिहरुको व्यवस्थापन गरी आवश्यकताका आधारमा सेवा विस्तार गर्ने व्यवस्था मिलाईनेछ।
  • कृषि तथा पशुपालन व्यवसायलाई प्रविधिमैत्री बनाईदै लगिनेछ।
  • मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालित सहकारी संस्थाहरुको आधुनिकीकरण गर्दै विश्वसनीय तथा गुणस्तरीय सेवा प्रवाहमा जोड दिदैँ उचित व्यवस्थापन गरिनेछ।
  • मध्यपुर थिमि नगरपालिकाको परम्परागत तथा ऐतिहासिक क्षेत्रहरुमा भवन निर्माणलाई एकरुपता कायम गर्न नीति अवलम्बन गरिनेछ।
  • नगरवासीलाई गुणस्तरीय सेवा तथा उपभोग्य वस्तु प्राप्त गर्ने अधिकार सुनिश्चतताको लागि आवश्यक नीति अवलम्बन गरिनेछ।
  • हनुमन्ते खोलाको करिडोर विस्तार, क्षतिपूर्ति, तथा खोला सिमाङ्कन गर्ने विषयमा सरोकारवाला निकायहरुसँग समन्वय गरी प्रक्रिया अगाडी बढाईनेछ।
  • पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउनको लागि चालु आ.व.मा नै मध्यपुर महोत्सव सञ्चालन गरिनेछ।
  • सार्वजनिक सेवा प्रवाहलाई नतिजामूलक तथा थप प्रभावकारी बनाउन नापी, मालपोत लगायतका अन्य सरकारी कार्यालयबाट हुने कार्यसम्पादनलाई नगरपालिका क्षेत्रबाटै गर्ने गरी आवश्यक पहल गर्ने नीति अवलम्बन गरिनेछ।
  • मध्यपुर थिमि नगरपालिका भित्रका सार्वजनिक स्थान, पार्क लगायतको संरक्षण, उपयोग र सुरक्षा लगायतका सम्बन्धी कार्यहरु स्थानीय उपभोक्ता, संघ संस्था लगायतका निजी क्षेत्रको साझेदारीमा प्रचलित कानून बमोजिम सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ।
  • स्थानीय (खाद्य तथा पेयपदार्थ) घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने नीति लिईनेछ।

उपस्थित नगरसभा सदस्यज्यूहरु

नगरसभा सदस्यज्यूहरु अब म आ.व. २०८१।०८२ मा नगरपालिकाले बिषयगत र महाशाखागत र शाखागत अवलम्बन गर्ने नीतिहरू प्रस्तुत गर्ने अनुमति चाहान्छु।

सुशासन र संस्थागत विकास

सुशासन

  1. नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा, विकास कार्यहरुको प्रभावकारी अनुगमनको कडाईका साथ लागु गरिनेछ।नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, पारदर्शी र सेवाग्राही मैत्री बनाइनेछ साथै कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका आधारमा दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ।
  2. भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ।
  3. सबै वडा कार्यालयहरुमा सुचना अधिकारी, हेल्प डेक्सको व्यवस्था गरिनेछ।
  4. नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ।
  5. नगरवासीलाई छिटो–छरितो रुपमा न्याय प्रदान गर्नका लागि चालु आ.व. भित्र सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरिनेछ।
  6. नगरपालिकाको सेवा प्रवाहसँग सम्बन्धित ऐन, नियम, कार्यविधि, मापदण्ड, निर्देशिका, मार्गदर्शन, दिग्दर्शन आदि तयार गरी लागू गरिनेछ।
  7. नगर प्रहरीको सेवालाई शसक्त र प्रभावकारी बनाउन क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ।
  8. सूचना र प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रवाहलाई सहज तथा छिटो छरिटो बनाउन, जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गरिनेछ।

प्रशासन तथा जनशक्ति विकास

  • यस नगरपालिका अन्तर्गत बसोबास गर्ने विभिन्न क्षेत्रमा विज्ञता प्राप्त व्यक्तित्वहरूको पहिचान गरी उनीहरूको ज्ञान, सिप, क्षमता र अनुभवलाई नगरपालिकाको सर्वाङ्गीण विकासमा पूर्ण उपयोगको लागि विज्ञ समूह गठन गरिनेछ।
  • सेवाग्राहीलाई कुनै असहजता भएमा प्रत्यक्ष सम्पर्क गर्ने गरी गुनासो सुन्ने, सूचना उपलब्ध गराउने, सहजीकरण गर्ने आदि कार्यका लागि नागरिक सहायता कक्ष सञ्चालन गरिनेछ।
  • नगरपालिकामा कार्यरत सेवा करारका कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनेछ।
  • देश भित्रका र देश बाहिरका स्थानीय तहहरुसँग भगिनी सम्वन्ध कायम गर्दै पारस्परिक रुपमा सहयोग आदन प्रदान गर्दै लगिनेछ।
  • नगरवासीलाई राष्ट्रिय परिचयपत्र सहजरुपमा उपलब्ध गराउन नगरपालिकामै राष्ट्रिय परिचयपत्र स्टेशन स्थापना गरी तत्कालै कार्य प्रारम्भ गरिनेछ।

सूचना प्रविधि

  1. नगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई डिजिटल माध्यमबाट पोर्टलहरू, मोबाइल एप्लिकेशनहरू प्रयोगमा ल्याईने नीति अवलम्बन गरिनेछ।
  2. सूचना प्रविधिमा देखिएका समस्याहरु समाधान गर्न अनुसन्धान, प्रतिकार्य तथा जनचेतना अभिवृद्धि कार्यलाई प्रभावकारी बनाउन साइबर सुरक्षाको नीति अवलम्बन गरिनेछ।
  3. सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा अध्ययन अनुसन्धान गर्न IT Lab स्थापना गर्ने नीति अवलम्बन गरिनेछ।
  4. नगरपालिका सम्बन्धित जानकारी जनस्तर सम्म पुर्याउन सञ्चार माध्यम संग समन्वय र सहकार्य गरिनेछ।

आर्थिक प्रशासन

  1. आर्थिक अनुशासन तथा मितव्ययिता कायम गर्ने नीति अबलम्वन गरिनेछ।
  2. नगरपालिकाबाट सम्पादन हुने कार्यलाई छिटो, छरितो, पारदर्शी तथा गुणस्तरयुक्त ढंगबाट सम्पादन गर्नको लागि भुक्तानी प्रणालीलाई थप व्यवस्थित गर्ने नीति लिईनेछ।

राजस्व

  1. निजी, अर्धसरकारी निकाय तथा संघसंस्था लगायत अन्य व्यवसायहरुलाई अनिवार्य रुपमा करको दायरामा ल्याउने नीति अवलम्बन गरिनेछ।
  2. दिगो श्रोत व्यवस्थापनको लागी कर तथा गैर राजस्व अनुपातमा कर राजस्वको अंशवृद्धि गर्दै आन्तरिक राजस्वलाई भरपर्दो र दीगो श्रोतको रूपमा स्थापित गरिनेछ।
  3. करदातालाई कर तथा लेखाङ्कन प्रणालीका बारेमा ज्ञान अभिवृद्धि गर्न स्थानीय व्यवसायी, करदाता तथा व्यवसायी संघसंस्थाहरूसँगको सहकार्यमा ज्ञानबर्धक, जानकारीमूलक र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।
  4. करको दायरा फराकिलो पार्न अभियानात्मक, प्रचारात्मक र उत्प्रेरणात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ।
  5. बहाल करमा बहुदर प्रणाली लागु गरी आवासीय प्रयोजनका लागि बहालमा लगाई बहाल आम्दानी गरिरहेका घर धनीहरूलाई समेत व्यापक रूपमा करको दायरामा समेटिने छ।सम्पत्ति कर, भूमिकर, व्यवसाय कर र बहाल करमा निश्चित अवधिसम्म कर छुट तथा जरिवाना छुटको व्यवस्था गरी समयमै र नियमितरूपमा कर तिर्न करदातालाई प्रोत्साहित गरिनेछ।
  6. अनलाईन भुक्तानी प्रणालीको प्रयोग प्रभावकारी हुदैँ गएको सन्दर्भमा कर तथा राजस्व सङ्कलनमा सूचना प्रविधिको अधिकतम प्रयोगमा जोड दिई करदाता मैत्री कर प्रशासनको विकास गरी लागू गर्ने नीति लिईनेछ।
  7. वक्यौता कर अनिवार्य रुपमा असुली गर्ने र वक्यौता कर नतिर्ने व्यवसायीलाई प्रचलित कानून बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाइने नीति अवलम्बन गरिनेछ।

कानून तथा फैसला कार्यान्वयन

  1. स्थानीय तहमा कानून तर्जुमा तथा कार्यान्वयन गर्दा विधिको शासनलाई अवलम्बन गरिनेछ।
  2. न्यायीक सम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिको अवलम्बन गरिनेछ।
  3. सूचना प्रविधिको प्रयोगबाट न्यायीक सम्पादनको कार्यलाई सरल, सहज र पहुँच योग्य बनाइनेछ।

पूर्वाधार विकास

पूर्वाधार विकास तर्फ

  1. सडक तथा भौतिक पूर्वाधारको लागि सिमाङ्कन गरी DPR तयार पश्चात मात्रै वजेट विनियोजन गरी कार्यान्वयनमा लगिनेछ।
  2. संघ, प्रदेश लगायतका निकायहरुबाट नगरपालिका क्षेत्रभित्र संचालन हुने योजनाहरु नगर गुरुयोजना र योजना बैंकमा भएको प्राथमिकता अनुसार मात्र सिफारिस गरिनेछ।
  3. नगरपालिका क्षेत्रभित्रका सडक पूर्वाधार लगायतका योजनाहरुलाई वातावरण मैत्री बनाइनेछ र यस्ता स्थानहरुमा हरियाली व्यवस्थापनलाई जोड दिइनेछ।
  4. पर्यटन पूर्वाधार गुरुयोजना अनुसार निर्माण कार्य अगाडी बढाईनेछ।
  5. वातावरणीय सुधार एवम् जमिन मुनिको पानी पुनर्भरणका लागि विज्ञहरुको राय सुझावको आधारमा आवश्यक नीति अवलम्बन गरिनेछ।
  6. गुणस्तर परीक्षणका लागि नगरपालिकाको आफ्नै प्रयोगशाला स्थापना तथा संचालन गर्ने नीति लिइनेछ।

भवन निर्माण

  • भवन नभएका वडा कार्यालयहरूको नयाँ भवन निर्माण तथा जीर्ण भएका सामुदायिक विद्यालयका पुराना भवन मर्मत कार्यलाई प्राथमिकतामा राखिनेछ।
  • मध्यपुर थिमि नगरपालिका घोषणा भए देखि २०७४ साल सम्मका घर नक्शाहरु डिजिटाईजेसन कार्य सम्पन्न भईसकेको र बाँकी घर नक्शाहरुलाई पनि डिजिटाईजेसन गर्ने कार्यलाई निरन्तरता दिईनेछ।

सडक

  • बाटो कालोपत्रे गर्ने‚ ढलान गर्ने र ब्लक छाप्ने कार्य साथै ढल निकासको लागि ५०-५० प्रतिशत लागत सहभागिताको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ।साथै ८०-२० प्रतिशत जनसहभागितामा आधारित कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • मर्मत सम्भार कोषबाट विग्रेका भत्केका पूर्वाधार तत्काल निर्माण गर्न द्रुत कार्य सहयोगी टोली परिचालन गरिने कार्यलाई निरन्तरता दिईनेछ।

शहरी विकास

  • नगरपालिकाको भौतिक पूर्वाधार सम्बन्धी प्रोफाइल तयार गरिनेछ।
  • सिन्टिटार तथा कमेरोटार जग्गा एकीकरण आयोजनामा बाँकी रहेका कार्यहरुको कार्ययोजना बनाई सञ्चालन तथा हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

योजना, अनुगमन तथा मूल्याङ्कन

  • क्रमागत योजना, अधुरा योजनाहरू तथा कम लागतमा मर्मत सम्भार गरी पुनःसञ्चालनमा ल्याउन सकिने योजनालाई पहिलो प्राथमिकता दिइनेछ।
  • नगद लागत सहभागिता जुटने आयोजनालाई प्राथमिकता दिइनेछ।
  • पूर्वाधार लगायत आपसी सहकार्य र समन्वयका विषयहरूमा अन्य स्थानीय तहसँग समन्वय गरी संयुक्त समिति गठन गरी साझेदारीमा कार्य गरिनेछ।
  • उत्कृष्ट कार्यसम्पादन गर्ने उपभोक्ता समिति / निर्माण व्यवसायीलाई पुरस्कृत गरिने नीतिलाई निरन्तरता दिइनेछ।

भूमिसुधार नीति

  • नगरपालिका भित्रका सार्वजनिक, सरकारी, पर्ती लगायत अन्य जग्गाको पहिचान, सिमाङ्कन र संरक्षण गरिनेछ।
  • स्ववासी जग्गाको नक्शाङ्कन तथा पुर्जा वितरण कार्यलाई समन्वयात्मक रुपमा थप प्रभावकारी बनाइनेछ।

सिचाई तथा ऊर्जा

  • मध्यपुर उज्यालो अभियान अन्तर्गत नगर क्षेत्रका सडक तथा सम्पदा क्षेत्रहरुमा सडक वत्तीको व्यवस्था गरिनेछ।
  • खेती योग्य जमिनमा अत्याधुनिक प्रविधिबाट सिचाई सुविधाको कार्य अगाडि बढाइनेछ।

वातावरण,सरसफाई तथा फोहरमैला व्यवस्थापन

  • स्वच्छ, सफा र हरियाली प्रवर्द्धन अभियानलाई निरन्तरता दिइनेछ।टोलसुधार समिति/टोल विकास संस्था, महिला समूह लगायत सामाजिक संघ-संस्थाको सहभागिता र सक्रियतालाई प्रोत्साहित गरी निजी क्षेत्र र गैह्रसरकारी क्षेत्रसँगको सहकार्य र सहभागितामा फोहोरमैला व्यवस्थापन गर्ने नीति लिइने छ।
  • नगरक्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैलाको अन्तिम विसर्जन स्थलको खोजी गरिनेछ।
  • सार्वजनिक निजी साझेदारीमा नगर क्षेत्र भित्रका अरनिको राजमार्ग लगायतका अन्य सडक तथा बाटोको] दायाँबायाँ र विभिन्न पार्क एवँ सामुदायिक वन क्षेत्रमा वृक्षारोपण र वातावरण संरक्षण गरी हरियाली प्रवर्द्धन गर्दै सौन्दर्यीकरण गरिनेछ।
  • सामुदायिक वन क्षेत्र भित्र परम्परागत जडिवुटीको वोट विरुवाको वृक्षारोपण कार्यलाई प्रोत्साहित गरिनेछ।
  • बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपबाट वर्षेनी हुने गरेको धन जनको क्षति न्यूनीकरणका लागि प्रदेश तथा संघीय सरकार र साझेदार संस्थाहरू बीच समन्वय गरी संरक्षणका कार्यक्रमहरू अगाडि बढाइनेछ।
  • नगरपालिका क्षेत्र भित्र संचालित उद्योगहरुलाई वातावरणमैत्री बनाउने नीति अवलम्बन गरिनेछ।
  • फोहोरमैलाको उत्पादनमा न्यूनीकरण‚ प्रशोधन र पुनःप्रयोग लगायतका विधि मार्फत फोहोरमैला व्यवस्थापनको कार्यलाई अगाडि बढाइनेछ।फोहरको श्रोतमा नै वर्गीकरण गरी वर्गिकृत फोहर अनुसार छुट्टाछुट्टै संकलन गर्नें व्यवस्था मिलाईनेछ।
  • फोहोरमैला व्यवस्थापनको लागि नगरस्तरीय योजना तय गरी उपयुक्त स्थानमा फोहोर सङ्कलन केन्द्रको लागि सम्भाव्यता अध्ययन गरिनेछ।
  • हनुमन्ते र मनोहरा नदी नियमित रुपमा सरसफाई गर्न व्यवस्था मिलाईने छ।
  • नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरूबाट निस्कने चिकित्साजन्य फोहरमैला वैज्ञानिक ढंगले व्यवस्थापन गर्न नेपाल सरकार, बागमती प्रदेश सरकार तथा निजी संघ संस्थासँग सहकार्य गरिनेछ।
  • नगर क्षेत्रका ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदा भएको स्थान र अन्य सार्वजनिक महत्वका स्थानहरुमा दैनिक रुपमा फोहर संकलन गरी व्यवस्थापन गरिनेछ।
  • नगरपालिका क्षेत्र भित्रका दाह संस्कार गर्ने स्थान र माटोको भाँडोकुँडा पोल्ने स्थानलाई वातावरण मैत्री हुने गरी सञ्चालनमा ल्याईनेछ।
  • स्वच्छ हावा प्रवर्द्धन सम्वन्धी कार्यक्रम सञ्चालनमा ल्याईने छ।

खानेपानी तथा सरसफाई

  • खानेपानीको स्रोत र मुहान संरक्षण गर्न आवश्यक व्यवस्था मिलाइनेछ।
  • स्वच्छ र शुद्ध खानेपानीको सहज आपुर्तिको व्यवस्था गरिनेछ।

जलस्रोत तथा भूसंरक्षण

  • नगर क्षेत्रभित्रका पानीका श्रोतहरू पहिचान गरी संरक्षण गरिनेछ।
  • बाढी पहिरोको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश र संघीय सरकारका निकाय तथा गैह्रसरकारी निकायसँग समन्वय गरी विशेष कार्यक्रम लागू गरिने छ।

विपद् व्यवस्थापन

  • विपदमा परेका नगरवासीहरूलाई तत्काल उद्धार तथा राहत सामाग्री वितरण गर्न आवश्यक व्यवस्था मिलाइनेछ।साथै नगरपालिका क्षेत्र भित्र एम्वुलेन्स, शव बाहन तथा दमकलको सहज व्यवस्था मिलाईने छ।
  • नगरपालिकामा रहेको विपद् व्यवस्थापन कोष तथा विपद् न्यूनीकरणमा संलग्न साझेदार संस्थाहरूको सहयोगमा प्रकोप उद्धार सामग्री खरिद तथा प्रकोप न्यूनीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ।प्रत्येक वडामा विपद् व्यवस्थापन अन्तर्गत खोज तथा उद्धार सामग्री भण्डारणको व्यवस्था मिलाईनेछ।
  • हनुमन्ते र मनोहरा नदीको बहाब क्षेत्र अवरोध भई हुन सक्ने डुवान नियन्त्रणको कार्ययोजना बनाई कार्यान्वयनमा लगिनेछ।

सामाजिक विकास

शिक्षा क्षेत्र:

  • मध्यपुर थिमि नगरपालिकाबाट लिएको लक्ष्य अनुरुप आर्थिक वर्ष २०८१।०८२ भित्र नर्सिङ कलेज तथा पारामेडिक्स कोर्स सञ्चालन गरिनेछ।
  • उद्यमशीलताको विकास तथा रोजगारी सिर्जना गर्न विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन गर्ने नीति लिइनेछ।
  • नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्न आवश्यक व्यवस्था मिलाइनेछ।
  • विद्यालय शिक्षालाई गुणस्तरीय, संस्कारी, जीवनोपयोगी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउँदै लगिनेछ।
  • नतिजाका आधारमा उत्कृस्ट विद्यालय, शिक्षक र विद्यार्थीलाइ पुरस्कृत गर्ने नीति लिइनेछ।
  • सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर सुधार गर्न विश्व विद्यालयसँग समन्वय गरी कक्षा कोठामा आधारित निरीक्षण र तालिमलाई सँगसँगै लग्ने नीति लिईनेछ।
  • विद्यार्थीको प्रतिभा पहिचान गर्न तथा अतिरिक्त कृयाकलाप सञ्चालन गर्नका लागि नगरपालिका स्तरमा अतिरिक्त विषय शिक्षकको व्यवस्थापनलाई निरन्तरता दिईनेछ।
  • स्थानीय पाठ्यक्रम निर्माण कार्य सम्पन्न गरी कक्षा ८ सम्म कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ।
  • नेपाल भाषामा पाठ्यपुस्तक तयार गरी अध्ययन अध्यापनको व्यवस्था मिलाइनेछ।
  • मध्यपुर थिमि नगरपालिकालाई शैक्षिक गन्तव्य र एक्काईसौं शतब्दीको ज्ञान-विज्ञान केन्द्र बनाउने उद्देश्य सहित एक दीर्घकालिन परियोजना अगाडि बढाइनेछ।
  • उच्च शिक्षाका कार्यक्रमहरु संचालन गर्न नेपाल सरकारद्वारा स्थापित उपयुक्त विश्वविद्यालयसँग सहकार्य गर्नेछ र आवश्यक पूर्वाधारको लागि संघ र प्रदेश सरकारको सहकार्यमा भौतिक, आर्थिक तथा मानवीय श्रोत परिचालन गर्नेछ।
  • नगर क्षेत्रभित्र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने गैरसरकारी संघ/संस्था एवं निकायहरुको अनुगमन तथा नियमन गरी कानूनी दायरामा ल्याइनेछ।
  • ई-लाइब्रेरी सहितको पुस्तकालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिनेछ।
  • शैक्षिक नीति र शिक्षाको रणनीतिक योजना तर्जुमा गरिनेछ।
  • ICT शिक्षामा जोड दिंदै सामुदायिक विद्यालयहरुमा डिजिटल प्रबिधिवाट कक्षा संचालन गर्ने नीति लिईनेछ ।
  • सामुदायिक विद्यालयहरुमा शौचालय सरसफाई कार्यक्रमलाई निरन्तरता प्रदान गरिनेछ।
  • शिशु स्याहार केन्द्र क्रमशः सबै वडामा विस्तार गर्दै लगिनेछ।
  • शैक्षिक गुणस्तर परीक्षण गर्ने एवम् सामुदायिक विद्यालयका विद्यार्थीहरुको परीक्षा केन्द्रीकृत रुपमा सञ्चालन गर्ने नीति लिईनेछ।
  • शिक्षाको गुणस्तर विकासलाई मध्यनजर गरी सामुदायिक विद्यालयमा पुर्व प्राथमिक तह (ECD) शिक्षालाई दुई वर्षको बनाई थप एक सहयोगी शिक्षक उपलब्ध गराउने नीतिलाई निरन्तरता दिईनेछ।
  • विषयगत शिक्षक नभएका विद्यालयहरुमा विषयगत शिक्षक उपलब्ध गराउने नीति लिइनेछ।

युवा तथा खेलकुद

  • प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा वडा नं. २ मा रहेको मध्यपुर खेलकुद मैदानको पूर्वाधार विकास गरिनेछ।
  • सार्वजनिक स्थानमा खुल्ला व्यायामशाला सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
  • “खेलकुद युक्त पूर्वाधार, स्वस्थ जीवनको आधार” भन्ने मूल नाराका साथ समग्र खेलकुद क्षेत्रको विकासका लागि वडा तथा नगर खेलकुद विकास समिति गठन गरिनेछ।
  • युवा तथा खेलकुदका कार्यक्रममा क्लब र सामुदायिक संघ-संस्थालाई सक्रिय र जिम्मेवार बनाउन साझेदारीका कार्यक्रम अगाडि बढाइनेछ।
  • यस नगरपालिका अन्तर्गत रहेका प्रस्तावित खेलकुद मैदानमा पूर्वाधार निर्माणको कार्य अगाडि बढाइनेछ।
  • खेलकूद विकास समिति निर्माण गरी खेलकूद क्षेत्रको विकास गर्दै लगिने नीति लिईनेछ।
  • विद्यालयस्तरबाटै खेलकुद विकास कार्यक्रमहरु सञ्चालन गर्दै लगिनेछ।
  • वडा नं ९ लोखापाटी स्थित सार्वजनिक जग्गाको संरक्षण गरी खेल कभर्ड हल निर्माण गरिनेछ।

महिला बालबालिका तथा सामाजिक समावेशीकरण

  • समाजिक न्याय तथा समताका आधारमा सामाजिक समावेशीकरणलाई थप प्रभावकारी बनाइनेछ।
  • स्वरोजगार, रोजगारी र उद्यमशील कार्यक्रमका माध्यमवाट महिलाको आर्थिक सशक्तिकरणमा जोड दिईनेछ।
  • बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक नीति अवलम्बन गरिनेछ।
  • व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी सेवा प्रवाहलाई थप जवाफदेही, पारदर्शी र प्रभावकारी बनाइनेछ।
  • अपाङ्गगता मैत्री सेवा प्रवाह र संयन्त्रको सवलीकरण गर्दै लगिनेछ।

स्वास्थ्य 

  1. जनसंख्या र रोग भारको आधारमा आधारभूत स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै लगिनेछ।
  2. आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सामुदायिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य आमा समूह जस्ता विध्यमान “सामुदायिक स्वास्थ्य प्रणाली” लाई थप क्रियाशिल वनाउदै आधारभूत स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गरिनेछ।
  3. महिला तथा किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि शिक्षा सञ्चालन गरी चेतना अभिवृद्धि गरिनेछ।
  4. निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिईनेछ।
  5. सर्ने तथा नसर्ने रोगहरुको नियन्त्रण तथा रोकथामका लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ।
  6. क्षयरोग मुक्त पालिका घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ।
  7. पाठेघर र स्तन क्यान्सर तथा पाठेघर खस्ने लगायतका रोगको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था मिलाइनेछ।
  8. नगरवासीहरुको शारीरिक, मानसिक तथा अध्यात्मिक स्वस्थताको प्रवर्द्धन गरिनेछ।
  9. ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई प्रत्येक महिना प्रत्येक वडाको स्वास्थ्य संस्था, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ।
  10. नागरिक आरोग्य कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाईनेछ साथै थप आरोग्य केन्द्रहरु सञ्चालन गर्ने नीति लिईनेछ।
  11. आयुर्वेद चिकित्सा पद्धति मार्फत पुर्वकर्म/पञ्चकर्म संचालन तथा व्यवस्थापन गरिनेछ।
  12. योग सेवा तथा स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्नका लागि योग साधना केन्द्रसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ।
  13. मध्यपुर थिमि नगरपालिकामा होमियोप्याथिक चिकित्सा पद्धति सञ्चालनमा ल्याइनेछ।

आर्थिक विकास

कृषि विकास

  1. आधुनिक प्रविधिको प्रयोगबाट स्वस्थ बालीको उत्पादकत्वमा अभिवृद्धि गर्दै कृषकको आय आर्जन तथा रोजगार सृजनाका लागि आवश्यक नीति लिईनेछ।
  2. कृषि बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न मल/वीउविजन/प्रविधि/तालिम कार्यक्रम सञ्चालन गरिनेछ।
  3. कौशी खेतीलाई प्रभावकारी बनाउन प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  4. कृषिमा भैरहेको अनियन्त्रीत रासायनिक मल र बिषादी प्रयोगलाई व्यवस्थित र न्यूनीकरण गर्दै लगिनेछ।
  5. सूचीकरण भएका कृषकहरुलाई व्यवस्थित गरिदै लगिनेछ।

पशुपन्छी विकास

  1. “स्वच्छ मासु, स्वस्थ जीवन” भन्ने नारा सहित पशु वधस्थललाई वैज्ञानिक र व्यवस्थित ढङ्गबाट संचालनमा निजी क्षेत्रसँग सहकार्य गरिनेछ।
  2. नगरपालिका क्षेत्रभित्र छाडा चौपाया छोड्ने कार्यलाई नियमन गर्दै सामुदायिक कुकुरलाई व्यवस्थित गर्न  रेविज भ्याक्सिन र बन्ध्याकरण कार्यलाई निरन्तरता दिइनेछ।
  3. पशुपालन क्षेत्रको विकासमा कृषक समूह/समिति/सहकारी/गैह्र सरकारी संघ/संस्थासँग साझेदारी गरिनेछ।
  4. पशुधनको क्षति न्यूनीकरणको लागि रोग नियन्त्रण खोप कार्यक्रम संचालनमा जोड दिइनेछ।
  5. पशुजन्य महामारी नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रमहरू संचालन गरिनेछ।
  6. घरपालुवा जनावरहरुलाई सूचीकृत गर्ने व्यवस्था मिलाइनेछ।

उद्योग तथा रोजगारी प्रवर्द्धन

  • लघु उद्यम तथा स-साना घरेलु उद्योगहरूको स्थापनामा समुदाय एवं निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र त्यस्ता उद्योगलाई वातावरण अनुकूल बनाउन जोड दिइनेछ।
  • बजारको मागमा आधारित स्वरोजगार सृजना हुने उद्यम सञ्चालनलाई प्रोत्साहन गर्न बजार केन्द्रहरूमा लघु उद्यम कार्यक्रमहरू सञ्चालन गरिनेछ।
  • नगरपालिका क्षेत्र भित्र सञ्चालित घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन र बजारीकरण गर्दै लगिनेछ।
  • परम्परागत क्षेत्रमा सञ्चालनमा रहेका पुराना पेशाहरुको संरक्षणको लागि पर्यटकीय सांस्कृतिक उद्योगग्रामको रुपमा विकास गरिनेछ।
  • गरीव, विपन्न, आर्थिक अवस्था कमजोर भएका व्यक्ति र लक्षित वर्गलाई स्वावलम्वी र सम्मानयुक्त बन्ने वातावरण सिर्जना गर्न आय आर्जन, सीप विकास र क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ।
  • सीप विकास तालिम प्राप्त गरी समुहगत रुपमा आय आर्जन कार्य गर्न इच्छुक समुहलाई भौतिक पूर्वाधार तथा उपकरण सहयोग गरिनेछ।
  • नगरपालिका भित्र असंगठित अवस्थामा रहेका श्रमिकहरुको लगत तयार गरिनेछ।
  • नगरपालिकामा श्रम डेक्स सञ्चालनमा ल्याइनेछ।
  • सूचीकृत भएका वेरोजगारहरुलाई नगरपालिकाको समग्र विकास कार्यमा प्राथमिकताका साथ काम गर्ने अवसर प्रदान गरिनेछ।

वित्त तथा सहकारी

  • नगरक्षेत्रमा नयाँ खुल्ने सहकारी संस्थाको ईजाजत जारी र नवीकरण तथा सहकारी संस्थाबाट हुने वित्तीय जोखिमको न्यूनीकरणका लागि नियमित अनुगमन र सुपरिवेक्षणका साथै तालिमहरुको व्यवस्था गरिनेछ।
  • नगरभित्र विभिन्न टोल, बस्तीमा कृषक समूह, महिला समूहहरूले समूह निर्माण गरी दैनिक तथा मासिक बचत गर्दै आएको समूहको आम्दानी, खर्च र लगानीलाई संस्थागत गरी सहकारीताको अभियानलाई अगाडि बढाउन प्रभावकारी सहकारी शिक्षा सञ्चालन गरिनेछ।
  • सहकारी संस्थासँगको सहकार्यमा स्थिरीकरण कोष र ऋण सूचना केन्द्र सञ्चालनमा ल्याइनेछ।
  • दर्ता भई सञ्चालनमा नआएका सहकारी संस्थालाई खारेजी गर्ने र एकै प्रकृतिका संस्थाहरु एक आपसमा एकीकरण गर्न अभिप्रेरित गरिनेछ।
  • सहकारी संस्थाहरुलाई आर्थिक, सामाजिक एवम सांस्कृतिक उन्नयनका लागि मठमन्दिर, पाटीपौवा, कुवा, वाटो, पार्क, हरियाली प्रवर्द्धन आदि निर्माण कार्यमा समेत सहभागिता गराईनेछ।

संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन

  • मध्यपुर थिमि क्षेत्रका टोल बस्तीको मौलिक स्थान नाम अभिलेखीरकण एवं पुन:स्थापन अभियानलाई निरन्तरता दिइनेछ।
  • जन्म देखि मृत्युपर्यन्त सम्पन्न गरिने विभिन्न संस्कारहरु एवं सांस्कृतिक जात्रा चाडपर्वहरुमा आवश्यक वनस्पति जन्य वस्तुहरुका लागि वडा नं ४ स्थित दुनेगः, कुतुङ्ग डाडाँमा संस्कृति सम्वद्ध वनस्पति बगैँचा निर्माण गरिनेछ।
  • मूर्त अमूर्त सम्पदाहरुको संरक्षण, प्रवर्द्धन, अभिलेखीकरण तथा सम्वर्द्धनको नीति लिईनेछ।

उपस्थित नगरसभा सदस्यज्यूहरु,

अन्तमा मध्यपुर नगर सरकारको सम्बृद्धिको अभियानमा आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरी आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम तयार गर्न उचित राय, सल्लाह, सुझाव दिने बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्य, तथा सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, बुद्धिजीवि, नागरिक समाज, पत्रकार, नीजि तथा सहकारी क्षेत्र, विभिन्न संघ संस्थाबाट सकारात्मक राय, सुझाव, पृष्ठपोषण र सहयोग प्रदान गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद !                                                      सुरेन्द्र श्रेष्ठ                                                                  प्रमुख