भक्तपुर नगरपालिकाको १६ औं नगरसभा शुरु

भक्तपुर, असार ८
भक्तपुर नगरपालिकाको १६ औं नगरसभा बैठक शुक्रवार शुरु भएको छ । बैठकको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमले जनताको गाँस, बाँस र रोजगारीको बन्दोबस्त गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले आआफ्नो निर्वाचन क्षेत्रमा बसी त्यस ठाउँको विकासतर्फ जोड दिनुपर्ने बताउँदै कृषिजन्य खाद्यान्न विदेशबाट आयात रोक्न कृषि क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुँदा प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेहरुलाई बर्खास्त गर्नुपर्छ भन्दै उहाँले नेपालको प्राकृतिक स्रोतसाधन नेपाललाई नै अपुग भएको हुँदा विदेशीलाई बेच्न नहुने धारणा राख्नुभयो ।
भक्तपुर नपाले नगरपालिकाभित्र दर्ता नभएका सहकारी संस्थाहरु सञ्चालनमा रोक लगाउनुपर्नेमा जोड दिंदै उहाँले समस्याग्रस्त सहकारी संस्थाहरुको अनुगमनमा सम्बन्धित निकायले क्रियाशीलता देखाउनुपर्छ भन्नुभयो ।
संघ र प्रदेशहरुले स्थानीय तहहरुको विकास निर्माणको काममा हस्तक्षेप गर्न नहुने धारणा राख्दै उहाँले विकास निर्माणमा स्थानीय जनताको सहभागिता, श्रमदानसहितको उपभोक्ता समितिमार्फत आर्थिक अनुशासन, मितव्ययी र पारदर्शी रुपमा सम्पन्न गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेका हरेक कार्यमा नगरबासीहरूको संधै साथ र सहयोग प्राप्त हुँदै आएको स्मरण गर्नुभयो । सोही क्रममा नगरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म विभिन्न भूमिकामा रही प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग गर्ने सबैमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
नगरपालिकाले संविधान र कानुनले दिएका अधिकारभित्र रही भक्तपुर बासीहरूको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको चर्चा गर्दै उहाँले स्थानीय निर्माणले राष्ट्रिय स्तरको सेवा दिने भावनाअनुरुप काम गर्दै आएको र निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको वचन एक एक गरी पूरा गर्ने चरणमा रहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले विभिन्न सीपमूलक तालिम, युवा उद्यामशील ऋण प्रवाह गरी युवाहरुलाई व्यवसाय गर्न प्रोत्साहन गर्दै आएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत अशोककुमार पोखरेलले कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण लगायतका कार्य गर्दै आइरहेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालको ब्रम्हायणी भवनबाट आइसीयु सेवा सञ्चालन गरिने जानकारी गराउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले कलेजहरुको गुणस्तरीय शिक्षा कार्यान्वयनको लागि शिक्षक कर्मचारीहरुलाई तालिम दिनुका साथै उच्च शिक्षा अध्ययनको व्यवस्था गर्दै आइरहेको बताउनुभयो ।