सुमोको ठक्करले पैदलयात्रीको मृत्यु

भक्तपुर, असार ८
भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सुमो गाडीको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ । सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा १३ च २२६५ नंको सुमोले ठक्कर दिँदा बाग्लुङ गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको मृत्यु भएको हो ।
सुमोको ठक्करले गम्भिर घाईते भएका घर्तीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यही उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ बस्ने ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी कार्कीले बताउनुभयो ।