पत्रकार महासंघको चुनाव असार २२ गते

भक्तपुर, असार ८
नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि घोषणा गरेको छ । यसअघि गत बैशाख २१ र २२ गते काठमाण्डौंमा सम्पन्न २७ औं महाधिवेशनमा गत जेठ २६ गते शनिवार निर्वाचन गर्ने मिति तय भएपनि सदस्यता विवादका कारण हुन सकेको थिएन ।
त्यसयता निर्वाचन समिति, महासंघको केन्द्रीय पदाधिकारी र विभिन्न संघ संगठनहरु बीचको पटक पटकको छलफलपछि हिजो शुक्रवार साँझ निर्वाचन समितिले असार २२ गते निर्वाचन हुने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।
समितिले हिजो साँझ नै मतदाता नामावली प्रकाशन गरेको छ । प्रकाशित कार्यतालिका अनुसार मतदाता नामावली उपर दावी विरोध असार ७ गते साँझ ८ः३० बजेदेखी असार १० गते बिहान १० बजेसम्म आफैं उपस्थित भएर केन्द्रीय निर्वाचन कार्यालयमा दिन सकिने व्यवस्था गरेको छ ।
आफैं उपस्थित हुन असमर्थ रहे दावी उजुरी कर्ताले आफ्नो व्यीक्तगत इमेल आईडीबाट दावी उजुरी दर्ता गर्न सकिने व्यवस्था समेत गरेको छ ।
तालिका अनुसार असार १२ गते अपरान्ह ४ बजे मतदाता नामावलीको अन्तिम सूची प्रकाहन गरिनेछ । असार १३ गते उम्मेदवारी दर्ता, असार १३ गते साँझ ५ बजेदेखी असार १५ गते बिहान १० बजेसम्म उम्मेदवार उपर दावी विरोध, असार १० गते बिहान ११ बजेसम्म उम्मेदवारको मनोनयन फिर्ता, असार १५ गते दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ । यस्तै असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ ।